Logo

१० कात्र्तिक, काठमाडौं । करिब पाँच वर्षको लामो अन्तरालपछि भारत र चीनबीच पुनः प्रत्यक्ष हवाई उडान सुरु भएको छ ।

कोभिड महामारी र सन् २०२० को गलवान झडपका कारण स्थगित भएका दुई देशबीचको हवाई सम्पर्क सोमबारबाट जोडिएको हो ।

सोमबार भारतको कोलकाताबाट उडेको इन्डिगो एयरलाइन्सको फ्लाइट ६ ई-१७०३ मा करिब १८० यात्रु सवार थिए । यो जहाज चीनको ग्वाङ्जाउमा सफलतापूर्वक अवतरण भएको छ। यससँगै दुई एसियाली शक्तिबीचको प्रत्यक्ष उडान सेवा औपचारिक रूपमा पुनः सञ्चालनमा आएको हो  ।

भारत र चीनबीचको प्रत्यक्ष उडान कोभिड-१९ महामारी सुरु भएसँगै २०२० को सुरुवातमै रोकिएको थियो । सोही वर्ष लद्दाखको गलवान उपत्यकामा दुई देशका सेनाबीच हिंसात्मक झडप भएपछि सम्बन्ध थप चिसिएको थियो र उडानहरू पुनः सुरु हुन सकेका थिएनन् ।

द्विपक्षीय सम्बन्ध सुधारको संकेत

यद्यपि, पछिल्लो समय दुई देशबीचको सम्बन्ध क्रमिक रूपमा सुधार हुँदै गएको छ । गत वर्ष सीमा क्षेत्रमा गस्तीसम्बन्धी ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुनुका साथै यस वर्ष अगस्टमा प्रधानमन्त्री नरेन्द्र मोदीले सात वर्षपछि चीनको भ्रमण गरेका थिए । सोही महिनामा चीनका विदेशमन्त्री वाङ यी पनि भारत आएका थिए।

भारत सरकारले यो उडान पुनः सञ्चालनले दुवै देशका नागरिकबीच प्रत्यक्ष सम्पर्क बढाउने र द्विपक्षीय सम्बन्धलाई बिस्तारै सामान्य बनाउनु सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


सम्बन्धित समाचार