१० कात्र्तिक, काठमाडौं । नेपाल र चीनबीचको व्यापारिक सम्बन्धमा मुस्ताङस्थित कोरला नाका बलियो विकल्पका रूपमा उदाएको छ ।
परम्परागत नाकाहरू रसुवागढी र तातोपानीमा पहिरोका कारण लामो समय अवरोध भएपछि कोरलालाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको हो । भन्सार विभागको तथ्यांक अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (तीन महिना) मा कोरला नाकाबाट मात्रै ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आयात-निर्यातको अवस्था
कोरला नाका हुँदै ५ अर्ब २७ करोड रुपैयाँ बराबरका वस्तुहरू नेपाल भित्रिएका छन्। यस नाकाबाट पछिल्ला दिनमा विद्युतीय सवारीसाधन (ईभी), लत्ताकपडा र फलफूलहरूको आयात उल्लेख्य भएको छ । सोही अवधिमा ९१ लाख ३२ हजार रुपैयाँ बराबरका वस्तु चीनतर्फ निर्यात भएका छन् ।
रसुवाको लेहेन्दे खोलामा आएको बाढीले २४ असारमा रसुवा भन्सार कार्यालय पूर्ण रूपमा बन्द भएपछि र तातोपानी नाकाको कोदारी राजमार्गमा पहिरोले यातायात अवरुद्ध गरेपछि नेपाल र चीनले कोरलालाई वैकल्पिक नाकाका रूपमा प्राथमिकतामा राखेका थिए। यो नाका भदौ ३० गतेदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो।
अन्य नाकाको अवस्था
वैकल्पिक नाकाका रूपमा कोरलाको व्यापार चम्किरहेका बेला अन्य परम्परागत नाकाको व्यापार भने सुस्त देखिएको छ । पछिल्लो तीन महिनामा जम्मा ३८ करोड ८१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने निर्यात शून्य छ। निर्यात शून्य रहेको यो नाकाबाट ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
चिनियाँ भूभाग हुँदै प्रतीतपत्र मार्फत सामान आयात गर्न नेपाल राष्ट्र बैंकले समेत मुस्ताङ भन्सार कार्यालयलाई सहजीकरण गरेपछि कोरलाको व्यापारमा तीव्रता आएको हो । चीनसँगको नेपालको कुल व्यापारमा आयाततर्फ १ खर्ब ४ अर्ब ८९ करोड र निर्याततर्फ १८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

















