१० कार्तिक, काठमाडौं । स्वादमा फिक्का तर गुणमा अब्बल। पर्से अमेरिकाना वैज्ञानिक नाम भएको एभोकाडो, जसलाई नेपालीमा “घ्यु फल” भनिन्छ, पछिल्लो समय नेपाली किसानका लागि आम्दानीको आकर्षक स्रोत बन्न थालेको छ।
अमेरिकी र मेक्सिकन उष्ण प्रदेशमा उत्पत्ति भएको यो फलले अहिले नेपालको पूर्वी पहाडमा आफ्नो बलियो उपस्थिति जनाउँदैछ।
नेपालमा समुद्री सतहबाट २५०० मिटरसम्मको उचाइमा यसको व्यावसायिक खेती सम्भव देखिएसँगै धनकुटा, मोरङ, सुनसरी, इलाम र पाँचथरका किसानहरू यसप्रति आकर्षित भएका छन्। विशेषगरी, धनकुटा जिल्ला हाल नेपालमा एभोकाडो उत्पादनको ुहबु बन्दै गएको छ।
विश्व बजारमा “सुन” नेपालमा “माटो”
यो फलको विश्व बजारमा अत्याधिक माग छ। अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य प्रतिकेजी १ हजार रुपैयाँसम्म पर्ने गरेको छ। तर, नेपालमा यसको महत्त्वबारे पर्याप्त जनचेतना नहुँदा यसको मूल्य प्रतिकेजी ३०० देखि ६०० रुपैयाँको बीचमा सीमित छ।
लगाएको ३ देखि ५ वर्षमै फल दिन सुरु गर्ने र एउटै रूखले एक पटकमा १००० केजीसम्म उत्पादन दिन सक्ने क्षमता राख्ने यो फल, नेपाली किसानका लागि “सुनौलो फल” साबित हुनसक्ने देखिन्छ। तर, त्यसका लागि घरेलु बजार विस्तार र अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच अनिवार्य छ।
स्वाद होइन, स्वास्थ्य हो मुख्य
एभोकाडो स्वादका लागि भन्दा पनि यसमा पाइने पौष्टिक तत्वका लागि प्रख्यात छ। वैज्ञानिक सर्वेक्षणहरूले यस फललाई सुपरफुड को श्रेणीमा राख्दै मानव स्वास्थ्यमा चमत्कारिक लाभ प्रदान गर्ने तत्वहरूले भरिपूर्ण रहेको देखाएका छन्।
२० भन्दा बढी भिटामिन र खनिज पाइने एभोकाडोलाई फलहरूको राजा समेत भनिन्छ। यसमा कोलेस्ट्रोलको मात्रा शून्य हुने भएकाले जोकोहीले पनि यसको सेवन गर्न सक्छन्।
एभोकाडोका प्रमुख स्वास्थ्य फाइदाहरू
उच्च रक्तचाप नियन्त्रण : पोटासियमको प्रचुर स्रोत भएकाले यसले उच्च रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ।
क्यान्सरको जोखिम कम : यसमा पाइने फोलेट नामक तत्वले क्यान्सरका कोषहरूलाई अनावश्यक रूपमा बढ्नबाट रोक्ने विभिन्न अनुसन्धानले देखाएका छन्।
मुटुको साथी : यो फलमा कोलेस्ट्रोल नहुने र स्वस्थ चिल्लो पदार्थ पाइने भएकाले यसले रगतमा कोलेस्ट्रोल सन्तुलन गरी मुटु रोगको जोखिमबाट बचाउँछ।
डिप्रेसनमा उपयोगी : यसमा रहेको फोलेटले मस्तिष्कमा “होमिसिस्टाइन” उत्पादन बढाउँछ, जसले थकान, निन्द्रा र उत्तेजना नियन्त्रण गर्ने सेरोटोनिन र डोपामिनजस्ता रसायनलाई प्रभावित पार्छ।
बलियो हड्डी : भिटामिन “के” को राम्रो स्रोत भएकाले यसले हड्डी कमजोर भएर भाँचिने रोग “अस्टियोपोरोसिस” को जोखिम घटाउँछ।
मोटोपन नियन्त्रण : एभोकाडो खाँदा लामो समयसम्म भोक नलाग्ने (अघाएको) महसुस हुन्छ, जसले गर्दा तौल नियन्त्रणमा सहयोग पुग्छ।
पाचन प्रणाली र आँखा : फाइबरको मात्राले कब्जियत हुन दिँदैन भने यसमा पाइने “लुटिन” र “जिजान्थिन” तत्वले आँखालाई हानिकारक विकिरणबाट बचाउँछ।
बालबालिकाको मस्तिष्क विकास : यसमा पाइने मोनोअनस्याचुरेटेड फ्याट र भिटामिन “ई” ले बालबालिकाको मस्तिष्क वृद्धि(विकासमा महत्वपूर्ण सहयोग पुर्याउँछ

















