१० कात्र्तिक, काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन नियमित समयमै गर्ने स्पष्ट पारेका छन् ।
यद्यपि, उनले महाधिवेशन प्रतिनिधिहरूबाट उठेको विशेष महाधिवेशनको प्रस्तावलाई पनि सम्बोधन गरिने बताएका छन् । नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै खड्काले जारी केन्द्रीय समिति बैठकबाटै यस विषयमा निर्णय हुने जानकारी दिएका छन् ।
कार्यवाहक सभापति खड्काले सबै कुरालाई एक ठाउँमा जोडेर चालु केन्द्रीय कार्यसमिति बैठकबाट घोषणा भएको निर्वाचन, पार्टीको नियमित अधिवेशन, भ्रातृ संस्थाका अधिवेशन सबै विषयलाई अगाडि राखेर, पार्टीका महाधिवेशन प्रतिनिधिले प्रस्ताव गरेको विशेष महाधिवेशनलाई नियमित महाधिवेशनको सीमाभित्र जोडेर वृहत एकतामा जोड दिने बताएका छन् । उनले केन्द्रीय कार्यसमिति बैठकले सबै विषयलाई विचार गरेर पार्टी एकतालाई मजबुत बनाउने निर्णय लिने संकेत गरे।
त्यसैगरी, खड्काले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशको अवस्था प्रतिकूल रहेको भन्दै यसलाई अनुकूलतामा फर्काउन नेपाली कांग्रेसले महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

















