१० कात्र्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशमा उत्पन्न पछिल्लो असहज परिस्थितिलाई सम्हाल्दै शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुको कुनै विकल्प नभएको बताएका छन् ।
उनले निर्वाचन हुन्छ वा हुँदैन भन्ने दुविधा त्यागेर सबै राजनीतिक दल निर्वाचनको तयारीमा होमिनुपर्नेमा जोड दिएका छन् । आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले भने, “चुनाव हुन्छ वा हुँदैन भन्ने होइन। चुनावको विकल्प छैन । त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ ।”
उनका अनुसार निर्वाचन सफल पार्नु माओवादी केन्द्रको पहिलो कार्यभार हो, जसका लागि पार्टीको तल्लो तहसम्मका नेता कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको छ । प्रचण्डले नेपाली कांग्रेससहितका अन्य दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा लगातार कुराकानी गरिरहेको जानकारी दिए। उनले सरकारलाई अन्य कुरामा नअल्मलिएर निर्वाचनको वातावरण बनाउन केन्द्रित हुन आग्रह गरे।
यही हप्ताभित्र मोर्चा एकताको निष्कर्ष
यसैबीच, समाजवादी मोर्चामा रहेका पार्टीहरूसँगको एकताका लागि छलफल सकारात्मक रहेको संयोजक दाहालले जानकारी दिएका छन् ।
उनले समाजवादी मोर्चामा रहेका दलहरूबीच एकता नभए पनि मधेसवादी दलसहितका शक्ति र माओवादी केन्द्र मिलेर निर्वाचनमा जाने सम्भावना रहेको समेत औंल्याएका छन् ।
















