१२ कात्तिक,काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम मिर्गौला समस्याका कारण काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) को आईसीयूमा भर्ना भएका छन्।
अस्पताल स्रोतका अनुसार उनीलाई तिहार अघिदेखि आईसीयूमा उपचार भइरहेको छ। हाल उनको स्वास्थ्यावस्था स्थिर रहेको जनाइएको छ।
पूर्वमन्त्री आलमलाई रौतहटको राजापुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घाइतेहरूलाई इँटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा जिल्ला अदालतले २०८१ वैशाख १३ गते जन्मकैदको सजाय सुनाएको थियो।
तर आलमले त्यसविरुद्ध उच्च अदालत वीरगञ्जमा पुनरावेदन गरेपछि गत १४ जेठमा न्यायाधीश खुशीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको थियो। सोही दिन उनी नख्खु कारागारबाट रिहा भएका थिए।
कारागारबाट छुटेको केही दिनमै आलमलाई स्वास्थ्य समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो। एक साताभन्दा बढी उपचारपछि डिस्चार्ज भएका उनलाई समस्या फेरि बल्झिएपछि दसैंअघि केएमसी अस्पतालमा पुनः भर्ना गरिएको थियो।
स्वास्थ्य अवस्था सुधार नभएपछि तिहारअघि उनलाई फेरि आईसीयूमा राखिएको र चिकित्सकको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

















