Logo

१२ कात्तिक,काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आजदेखि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। बहसका क्रममा बहसकर्तालाई ५/५ मिनेट समय सीमित गरिने भएको छ।

सर्वोच्च अदालतका अनुसार समय व्यवस्थापनका लागि इजलासले हरेक पक्षका बहसकर्तालाई समान रूपमा ५ मिनेटको समय निर्धारण गरेको हो।रिट निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईलगायतका कानुन व्यवसायीहरूले सुरुआती बहस सुरु गरेका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन्।

गत २७ भदौमा अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए। सो निर्णयविरुद्ध विभिन्न अधिवक्ताहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

रिट निवेदकहरूले सरकार गठन र प्रतिनिधि सभा विघटन दुवै संविधानविपरीत भएको दाबी गर्दै निर्णय बदरको माग गरेका छन्।

यसअघि २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि संसदबाट नयाँ सरकार बन्न नसकेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो।

त्यही अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको हो।


सम्बन्धित समाचार
भर्खरै