१२ कात्तिक,काठमाडौं । क्यानाडाको ब्रिटिश कोलम्बिया प्रान्तमा रहेका भारतीय मूलका उद्योगपति दर्शन सिंह साहसीको हत्याको जिम्मेवारी कुख्यात अपराधी लरेन्स बिश्नोई गिरोहले लिएको छ।
गिरोहका सदस्य गोल्डी ढिल्लोनले सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै साहसीको हत्याको कारण लागुऔषध कारोबारमा उनको कथित संलग्नता र गिरोहलाई पैसा दिन अस्वीकार गर्नु रहेको बताएका छन्।
अक्टोबर २७ बिहान, ब्रिटिश कोलम्बियाको एबट्सफोर्डस्थित घरबाहिर साहसीको गोली हानी हत्या गरिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार सुटर साहसीको घर नजिकै सडक किनारमा गाडी पार्क गरेर पर्खिरहेको थियो। साहसी आफ्नो कारमा बस्नेबित्तिकै अर्को कारबाट आएका हमलाकारहरूले गोली प्रहार गरेका थिए।
एबट्सफोर्ड प्रहरीका अनुसार बिहान ९ बजे तिर गोली चलेको रिपोर्ट पाएपछि टोली घटनास्थल पुगेको थियो। प्रहरीले साहसीलाई गम्भीर अवस्थामा फेला पारी अस्पताल पु¥याएको भए पनि उनलाई बचाउन सकिएन।
सावधानीका लागि नजिकका तीन विद्यालयमा ‘लकडाउन’ गरिएको थियो, तर कुनै विद्यार्थीलाई क्षति पुगेको थिएन।
को थिए दर्शन सिंह साहसी ?
पञ्जाबको लुधियाना जिल्लास्थित राजगढ गाउँका मूल निवासी साहसी सन् १९९१ मा क्यानाडा बसाइँ सरेका थिए। सुरुमा सामान्य काम गरेका उनले पछि क्यानाम इन्टरनेसनल नामक कपडा रिसाइक्लिङ कम्पनीमा लगानी गरेर त्यसलाई विश्वव्यापी व्यवसायमा रूपान्तरण गरे।
उनी क्यानाम इन्टरनेसनलका अध्यक्ष थिए — यो कम्पनी विश्वव्यापी रूपमा दिगो कपडा पुनःप्रयोग र रिसाइक्लिङका लागि चिनिन्छ। कम्पनीका अनुसार दैनिक करिब ५ लाख पाउन्ड कपडा प्रशोधन गरिन्छ।
उनको कम्पनीमा पञ्जाबी मूलका धेरै कर्मचारीहरू कार्यरत थिए र भारतको गुजरातको काँडलामा पनि उनको व्यापारिक सञ्चालन थियो। साहसी सामाजिक र परोपकारी कार्यमा पनि सक्रिय रहँदै आएका थिए।
क्यानाडा प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ भने लरेन्स बिश्नोई गिरोहको दाबीको सत्यता पनि जाँच भइरहेको बताइएको छ।

















