Logo

१३ कार्तिक, काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच आज (विहिबार) दक्षिण कोरियाको बुसान सहरमा उच्चस्तरीय भेटवार्ता हुँदैछ। विश्वका दुई प्रमुख अर्थतन्त्रबीच पछिल्ला महिनामा चर्किँदै गएको व्यापार युद्धको पृष्ठभूमिमा हुने यो भेटलाई निकै महत्वपूर्ण रूपमा हेरिएको छ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार कोरियाली समयानुसार बिहान ११ बजे दुई नेताबीच भेटवार्ता तय भएको हो। सोही विषयमा चिनियाँ विदेश मन्त्रालयले पनि औपचारिक पुष्टि गर्दै भेट दक्षिण कोरियाको बुसान सहरमा हुने जनाएको छ।

सन् २०१८ यता अमेरिकी–चिनियाँ व्यापार सम्बन्धमा लगातार तनाव रहँदै आएको छ। दुवै देशले एकअर्काका वस्तुमा अर्बौँ डलर बराबरका आयात शुल्क लगाउँदै आएका छन्। यसबीचमा हुन लागेको यो भेटले व्यापार युद्ध अन्त्यतर्फ लैजाने संकेत दिएको कूटनीतिक विश्लेषकहरूले बताएका छन्।

भेटअघि मलेसियामा दुई देशका उच्च अधिकारीबीच भएको वार्ताले व्यापार सम्झौताको प्रारम्भिक रूपरेखा तयार पारेको बताइएको छ।

बुसानमा हुने भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, व्यापार असन्तुलन, कृषि वस्तुको खरिद–बिक्री, र आपसी हितका अन्य विषयमा छलफल हुने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

समाचार संस्था रोयटर्सका अनुसार, ट्रम्प र सीबीचको वार्ताको प्रमुख एजेन्डामा अमेरिकी किसानका सोयाबिन र अन्य कृषि उत्पादन खरिदको विषय रहनेछ। वार्तापूर्व चीनको सरकारी स्वामित्वको कम्पनी कोफ्को (COFCO) ले अमेरिकाबाट तीन खेप सोयाबिन खरिद गरिसकेको छ। यसलाई यस वर्ष अमेरिकाबाट चीनले गरेको पहिलो ठूलो खरिदका रूपमा हेरिएको छ।

अमेरिकाबाट खरिद घटाइएकाले अमेरिकी किसानहरूलाई अर्बौँ डलर बराबरको घाटा भएको बताइँदै आएको छ। त्यसैले यस भेटलाई कृषि व्यापार पुनर्स्थापनाको आशाका रूपमा पनि हेरिएको छ।

ट्रम्प र सी दुवै जना दक्षिण कोरियाको ग्याङ्झू सहरमा हुने एशिया प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) शिखर सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलनमा सहभागी हुनुअघि नै दुई नेताबीच छुट्टै भेटवार्ता तय गरिएको हो।

राजनीतिक विश्लेषकहरूले यो भेटलाई “व्यापारिक तनाव कम गर्ने निर्णायक अवसर”का रूपमा मूल्याङ्कन गरेका छन् । उनका अनुसार यदि दुवै देशबीच प्राथमिक सहमति भयो भने, आगामी महिनाहरूमा अमेरिका-चीन व्यापार सम्बन्धमा नयाँ मोड आउन सक्ने देखिन्छ।

यो भेट सफल भएमा अमेरिकी-चीन व्यापार युद्धको अन्त्यतर्फ ठोस प्रगति हुने र त्यसको सकारात्मक प्रभाव विश्व अर्थतन्त्रमा समेत पर्ने अपेक्षा विश्लेषकहरूको छ।


सम्बन्धित समाचार