बुटवल, १३ कात्तिक। बहुचर्चित सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा हुँदैछ ।
न्यायाधीशद्वय ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासमा यो महत्त्वपूर्ण मुद्दाको सुनुवाइ हुन लागेको हो । यसअघि न्यायाधीश अर्याल र मिलनकुमार राईको इजलासले दुवै प्रतिवादीको मुद्दाको प्रकृति एकै भएकाले एकसाथ राखेर सुनुवाइ गर्न आदेश दिएको थियो ।
थुनामुक्तिको माग खारेज भएपछि उच्च अदालतमा निवेदन
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले आफ्नो भागमा परेको बिगो रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा दाखिला गरी थुनाबाहिरै बसेर मुद्दा लड्न पाऊँ भनी जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए । तर, जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते ुउनीहरूको भागमा कति बिगो कायम हुने भन्ने यकिन नभएकोु भन्दै रिहा गर्न अस्वीकार गरेपछि लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । लामिछानेलाई हाल ललितपुरको नख्खु कारागारमा र जोशीलाई भैरहवा कारागारमा राखिएको छ ।
सहकारी ठगी मुद्दामा रविसहितका प्रतिवादीहरूमाथि सामूहिक १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगो कायम गरिएको छ । जोशीले पनि लामिछानेसरह बिगो बापतको जमानत पेस गरेका थिए । उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार आज सरकारी वकिल र लामिछानेका वकिलले बहस गर्ने कार्यक्रम रहेको छ ।
यसअघि जेन–जी प्रदर्शनका क्रममा उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा भएको आगजनी र तोडफोडबाट लामिछाने र जोशी दुवैको मुद्दाको फाइल सुरक्षित रहेको थियो । आजको सुनुवाइले यी दुई प्रतिवादीको मुद्दाको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण मोड लिने अपेक्षा गरिएको छ।














