Logo

१४ कार्तिक, काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य पुष्टि नभएका, आधार–प्रमाणहीन र अतिरञ्जित सामग्री प्रकाशन वा सम्प्रेषण नगर्न आग्रह गरेको छ।

काउन्सिलका सह–प्रवक्ता रामशरण बोहराले विहीबार जारी गरेको विज्ञप्तिमा हालका दिनमा परिस्थितिलाई उत्तेजक बनाउन नियोजित रूपमा मिथ्या, गलत तथा तोडमोड गरिएको सामग्री प्रकाशन-प्रसारण हुने घटनाहरू बढेको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “पत्रकारिताका मूल्यमान्यताविपरीत गैरपेसागत आचरण गर्ने, तथ्यगत परीक्षण तथा आधार–प्रमाण बिना हतारमा सामग्री सम्प्रेषण गर्ने, सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा उत्तेजना, अफवाह र भ्रम फैलाउने कार्य नगर्न नगराउन काउन्सिल सबैमा आग्रह गर्दछ।”

काउन्सिलले सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी, युट्युब सञ्चालक तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित र जिम्मेवार बन्न सुझाव दिएको छ। सहप्रवक्ता बोहराका अनुसार यस्ता कार्य पेसागत आचारसंहिताविपरीत मात्र नभई गैरकानुनी पनि हुने भएकाले सावधानी अपनाउन जरुरी छ।

त्यस्तै, मिडिया संस्थामा आबद्ध नभई सञ्चालन भइरहेका युट्युब च्यानललगायतका सामाजिक सञ्जालबाट प्रसारित सामग्रीमा आचारसंहिताविपरीत सामग्री देखिएमा काउन्सिलले स्वअनुगमन वा उजुरीका आधारमा कारबाही अघि बढाउने जनाएको छ।

काउन्सिलले भनेको छ, “त्यस्ता सामाजिक सञ्जाललाई पहिलोपटक भुलसुधार निर्देशन एवं सचेत गराइनेछ, तर सचेत गराए पनि सुधार नभएमा आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायसँग पत्राचार गरिनेछ।”

काउन्सिलले तथ्यपरक, सन्तुलित र उत्तरदायी पत्रकारितालाई प्रोत्साहन गर्दै सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूलाई पेसागत आचारसंहिता पालनामा सचेत रहन आग्रह गरेको छ।


सम्बन्धित समाचार