Logo

१४ कात्र्तिक, काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरका ठूला उद्योगहरूमध्ये डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेका तीन उद्योगले महसुलको किस्ता बुझाउन थाले पनि जगदम्बा स्टिलले भने लामो समयदेखिको बक्यौता भुक्तान गर्न आनाकानी गरेको छ ।

हुलास स्टिल इण्डष्ट्रिज, अशोक स्टिल र हामा आइरनले असोज ३० गतेदेखि नै महसुलको किस्ता बुझाउन थाले पनि जगदम्बा स्टिलले भने २०७२ पुसदेखि २०७५ पुससम्मको डेडिकेटेड र ट्रंक लाइन उपभोग गरेबापतको १ अर्ब ६० करोड बक्यौता रकम बुझाउन आलटाल गरिरहेको छ।

बक्यौता नबुझाएपछि नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले कात्तिक ४ गते जगदम्बा स्टिलको ६६ हजार केभी विद्युत् प्रसारण लाइन काटिदिएको थियो, जसका कारण फलाम गलाउने ठूला भट्टीहरू बन्द भएका छन्, तर ११ हजार केभी र अन्य लाइनबाट करिब ३० देखि ४० प्रतिशत उद्योग सञ्चालित रहेको मजदुर युनियनले जनाएको छ।

अखिल नेपाल ट्रेड युनियन महासंघ, जगदम्बा स्टिल मजदुर युनियनका सचिव दिपक कार्की ले अन्य उद्योगले महसुल बुझाउँदा जगदम्बा स्टिलले मात्रै बलमिच्चाइँ गरेर राज्यको कानुन उल्लङ्घन गर्न खोजेको र उद्योग प्रशासनले मजदुरको रोजगारी कटौती गर्ने धम्की दिएर महसुल नतिर्न राज्यलाई दबाब दिन खोजेको आरोप लगाएका छन् । मजदुर युनियनले यो विवाद सरकार र उद्योग प्रशासनबीचको भएकोले मजदुरका मुद्दालाई नमिसाउन र राज्यको नियम मान्न उद्योगलाई आग्रह गरेको छ।


सम्बन्धित समाचार