Logo

१६ कात्तिक, काठमाडौं । । नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति लाई लिएर चुलिएको आन्तरिक विवाद व्यवस्थापन गर्न अहिले पार्टीको कार्यसम्पादन समिति बैठक जारी छ ।

महाधिवेशनको कार्यतालिका पेस गर्न नपाएको भन्दै यसअघि लगातार बैठक बहिष्कार गर्दै आएका महामन्त्री गगन थापा आजको बैठकमा भने उपस्थित भएका छन् । ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बिहान १० बजेदेखि छलफल सुरु भएको हो ।

विवादको केन्द्रबिन्दु महाधिवेशनको समय

पार्टीभित्र प्रमुख विवाद महाधिवेशनको समयमा केन्द्रित छ । नेताहरूका अनुसार बैठकमा दुवै पक्षबाट प्रस्तावित समयलाई मिलाएर महाधिवेशनको नयाँ कार्यतालिका बनाउने विषयमा गहन छलफल चलिरहेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुससम्म नै महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राख्दै आएका छन् ।

महामन्त्री शर्माले त पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने वैकल्पिक प्रस्ताव समेत पेस गरेका छन् । संस्थापन पक्षले भने वैशाखको अन्तिममा महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ ।

गगनको अडान र युवा नेताको दबाब

महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका नल्याइए आफू केन्द्रीय समिति बैठकमा पुनः अनुपस्थित हुने चेतावनी दिँदै आएका थिए । सोही कारण बिहीबारको केन्द्रीय समिति बैठकमा उनी अनुपस्थित भएका थिए भने शुक्रबारको बैठक स्थगित गरिएको थियो । यसैबीच, युवा नेताहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन गरेर कार्यवाहक सभापति खड्कालाई बुझाइसकेका छन्, जसले पार्टी नेतृत्वमाथि दबाब बढाएको छ ।

एक नेताका अनुसार यद्यपि सहमति जुटाउनका लागि विकल्पहरूमा कुराकानी भइरहेको छ, तर बैठकबाट तत्काल सहमति जुट्ने सम्भावना भने कमै देखिएको छ ।


सम्बन्धित समाचार