Logo

१६ कात्तिक,पटना । बिहारको पटना नजिक मोकामा क्षेत्रका पूर्व विधायक अनन्त सिंहलाई दुलारचन्द यादव हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ।

पटना एसएसपी कार्तिकेय शर्माको नेतृत्वमा खटिएको प्रहरीको विशेष टोलीले सिंहलाई बाढको बेढना गाउँबाट राति अबेर पक्राउ गरेको हो। गिरफ्तारीपछि उनलाई कडा सुरक्षा व्यवस्थामाझ पटना ल्याइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बिहार विधानसभा निर्वाचनको बेला मोकामा क्षेत्रका जन सुराज पार्टीका समर्थक दुलारचन्द यादव (७५ वर्ष) को बिहीबार हत्या भएको थियो। मोकामाको टाल क्षेत्रमा भएको हिंसात्मक झडपका क्रममा यादवको मृत्यु भएपछि सिंहमाथि मुख्य आरोपीका रूपमा मुद्दा दर्ता गरिएको हो।

एसएसपी शर्माका अनुसार, “प्रारम्भिक अनुसन्धान, प्रत्यक्षदर्शीको बयान र पोस्टमार्टम रिपोर्टका आधारमा अनन्त सिंहको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो।”

प्रहरीले सिंहसँगै उनका दुई सहयोगी — मणिकान्त ठाकुर र रणजीत रामलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।

मोकामा सिटलाई बिहारको राजनीति अत्यन्त संवेदनशील मानिन्छ। नोभेम्बर ६ मा हुने मतदानअघि अनन्त सिंहजस्तो चर्चित व्यक्तित्वको गिरफ्तारीले राजनीतिक समीकरणमा हलचल ल्याएको छ।
स्थानीय विश्लेषकहरूका अनुसार, यो घटनाले मोकामाको चुनावी प्रतिस्पर्धामा प्रत्यक्ष असर पार्ने सम्भावना छ।

घटनापछि निर्वाचन आयोगले यसलाई गम्भीर सुरक्षा चुनौतीको रूपमा लिएको छ। आयोगले पटना ग्रामीण एसपीसहित केही अधिकारीलाई जिम्मेवारीबाट हटाउँदै तीन जनामाथि कारबाही गर्न निर्देशन दिएको छ।
यससँगै शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न प्रशासनमाथि थप दबाब परेको बताइन्छ।


सम्बन्धित समाचार