१७ कार्तिक, काठमाडौँ । अफगानिस्तानको उत्तरी क्षेत्र मजार–ए–शरिफ नजिकैको खोल्मा क्षेत्रमा गएराति शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएस (USGS) का अनुसार भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड मापन गरिएको छ।
कतारी सञ्चार माध्यम अलजजिरा का अनुसार भूकम्प स्थानीय समय अनुसार राति १२ बजेर ५९ मिनेटमा, करिब २८ किलोमिटर गहिराइमा गएको हो। प्रारम्भिक विवरणअनुसार भूकम्पको केन्द्रबिन्दु बाल्ख प्रान्त अन्तर्गतको खोल्मा क्षेत्रमा रहेको छ।
भूकम्पपछि मजार–ए–शरिफ र आसपासका बासिन्दा घर भत्किने डरले मध्यरातमा सडकमा निस्किएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन्।
स्थानीय अधिकारीहरूले आपतकालीन सम्पर्क नम्बर सार्वजनिक गरेका छन्, तर हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन। उद्धार र राहत टोलीहरूलाई तयारी अवस्थामा राखिएको बताइएको छ।
सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान सरकारले देशमा भएका धेरै ठूला भूकम्पहरूको सामना गर्नुपरेको छ। यसै वर्ष अगस्ट ३१ मा देशको पूर्वी क्षेत्रमा गएको ६ म्याग्निच्युडको भूकम्पमा २,२०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।
भूगर्भविद्हरूका अनुसार अफगानिस्तानमा बारम्बार भूकम्प जाने कारण हिन्दु कुश पर्वतशृंखलाको आसपास युरेशियन र भारतीय टेक्टोनिक प्लेटहरू एक–अर्कासँग ठोक्किनु हो। सन् १९०० यता अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा ७ म्याग्निच्युडभन्दा माथिका १२ वटा शक्तिशाली भूकम्प गइसकेका छन्।

















