१७ कार्तिक, काठमाडौँ । “हरियो, स्वच्छ र आकर्षक वीरगञ्ज” अभियान दोस्रो दिन पनि निरन्तर रूपमा सञ्चालन गरिएको छ। वीरगञ्ज महानगरपालिका, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वाटर वीरगञ्ज र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सुरु गरिएको उक्त अभियानमा आज नगर प्रमुख मेयर राजेशमान सिंहको विशेष उपस्थिति रहेको थियो।
दोस्रो दिनको अभियान वीरगञ्ज–१६ स्थित मितेरी पुल क्षेत्रबाट सुरु गरिएको थियो। अभियानको मुख्य उद्देश्य वीरगञ्जलाई हरियालीयुक्त, प्रदूषणमुक्त र पर्यटनमैत्री सहरको रूपमा विकास गर्नु रहेको आयोजक संस्थाहरूले बताएका छन्।
कार्यक्रममा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका एसपी पुरनचन्द्र भट्ट, वीरगञ्ज भन्सार कार्यालयका डिएसपी पुरुषोत्तम भण्डारी, सशस्त्र प्रहरी बलका जवानहरू, नगर प्रहरी, महानगरपालिकाका पदाधिकारीहरू, सामुदायिक प्रहरीका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
सो अवसरमा महानगरपालिकाको डोजर प्रयोग गरी मितेरी पुल आसपासको क्षेत्रमा बृहत सरसफाइ कार्य सञ्चालन गरिएको थियो। साथै फोहोर व्यवस्थापन, सडक छेउका झाडी हटाउने तथा हरियाली विस्तार जस्ता कार्यहरू पनि सम्पन्न गरिएका छन्।
मेयर राजेशमान सिंहले सरसफाइ र सौन्दर्यकरणपछि सो क्षेत्रलाई पार्कको रूपमा विकास गर्ने योजना रहेको जानकारी दिए। उनले निकट भविष्यमा सो पार्कको व्यवस्थापन र संरक्षणको जिम्मा सशस्त्र प्रहरीलाई दिने तयारी भइरहेको पनि बताए।
उनका अनुसार वीरगञ्ज महानगरपालिकाले शहरलाई व्यवस्थित, आकर्षक र स्वच्छ बनाउने दीर्घकालीन योजना अन्तर्गत यो अभियानलाई नियमित रूपमा सञ्चालन गर्नेछ।















