Logo

१७ कात्तिक,वीरगञ्ज । वीरगञ्जलाई हरियालीयुक्त, स्वच्छ र पर्यटनमैत्री सहरको रूपमा विकास गर्ने उद्देश्यसहित सुरु गरिएको “हरियो, स्वच्छ र आकर्षक वीरगञ्ज ” अभियान दोस्रो दिन पनि निरन्तर रूपमा सञ्चालन गरिएको छ।

यो अभियान वीरगञ्ज  महानगरपालिका कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वाटर वीरगञ्ज , र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा भइरहेको हो।

दोस्रो दिनको अभियान वीरगञ्ज –१६ मितेरी पुल क्षेत्रबाट सुरु गरिएको थियो, जहाँ विशेष उपस्थिति नगर प्रमुख मेयर राजेशमान सिंहको रहेको थियो।

अभियानका क्रममा महानगरपालिकाको डोजर प्रयोग गरी मितेरी पुल आसपासको क्षेत्रमा बृहत सरसफाइ, झाडी हटाउने, सडक छेउ हरियाली विस्तार लगायतका कार्यहरू सम्पन्न गरिए। फोहोर व्यवस्थापनमा स्थानीय बासिन्दा र प्रहरी निकायहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका एसपी पुरनचन्द्र भट्ट, बीरगंज भन्सार कार्यालयका डिएसपी पुरुषोत्तम भण्डारी, सशस्त्र प्रहरी बलका जवानहरू, नगर प्रहरी, महानगरका पदाधिकारीहरू र स्थानीय सरोकारवालाहरू सहभागी थिए।

मेयर राजेशमान सिंहले सरसफाइ र सौन्दर्यकरणपछि मितेरी पुल क्षेत्रलाई पार्कको रूपमा विकास गर्ने योजना रहेको बताए। उनले निकट भविष्यमा उक्त पार्कको व्यवस्थापन र संरक्षणको जिम्मा सशस्त्र प्रहरीलाई दिने तयारी भइरहेको पनि जानकारी दिए।

अभियानलाई निरन्तरता दिँदै बीरगंजलाई हरियो, स्वच्छ र आकर्षक सहरको नमुना बनाउन सबै पक्ष एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाइएको छ।


सम्बन्धित समाचार