Logo

१७ कात्तिक,काठमाडौं । मिथिला संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको सामाचकेवा महोत्सव २०८२ जनकपुरधाममा आइतबार सम्पन्न भएको छ। महोत्सवको आयोजना मैथिली विकास कोषले गरेको हो, जसले विगत केही वर्षदेखि यो सांस्कृतिक पर्वलाई भव्य रूपमा मनाउँदै आएको छ।

ऐतिहासिक जानकी मन्दिरको प्राङ्गणमा सम्पन्न महोत्सवमा विभिन्न जिल्ला तथा क्षेत्रबाट आएका १४ टिमका महिलाहरूले सामा गीत प्रस्तुत गर्दै परम्परागत नृत्य र गीत–संगीत प्रदर्शन गरेका थिए।

कोषका अध्यक्ष जीवनाथ चौधरीले महोत्सवको उद्देश्य नयाँ पुस्तालाई सामा चकेवाको सांस्कृतिक महत्व बुझाउने र मिथिला परम्परागत कलालाई पुनर्जीवित गर्ने रहेको बताए। उनले भने, “सामाचकेवा केवल पर्व मात्र होइन, यो मिथिला संस्कृतिको अमूल्य धरोहर हो, जसले हाम्रो पहिचानलाई जोगाइरहेको छ।”

सामाचकेवा पर्व मिथिलाञ्चल क्षेत्रमा दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा मनाइन्छ। यस पर्वमा महिलाहरूले परम्परागत गीत, नृत्य र सामा मूर्तिहरूको माध्यमबाट सांस्कृतिक सन्देश प्रवाह गर्छन्।

महोत्सवमा जानकी मन्दिरका महन्थ, समाजसेवी, बुद्धिजीवी, साहित्यकार, सञ्चारकर्मी, तथा विभिन्न संघ–संस्थाका पदाधिकारीसहित जनकपुरवासीहरूको भव्य उपस्थिती रहेको थियो।

कार्यक्रमले मिथिला संस्कृतिको सौन्दर्य, एकता र परम्परागत मूल्यलाई पुनः उजागर गरेको आयोजकले जनाएको छ।


सम्बन्धित समाचार