Logo

१७ कात्र्तिक, काठमाडौँ । देशमा व्याप्त राजनीतिक अन्योल र हालैका जेनजी आन्दोलनको प्रतिरोधकाबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो राजनीतिक शक्ति प्रदर्शनलाई उत्कर्षमा पुर्‍याउने घोषणा गरेको छ ।

एमालेका महासचिव शङ्कर पोखरेलले आगामी मङ्सिर २७ गते नेपालको इतिहासमा सर्वाधिक ठूलो जनसभा काठमाडौँमा आयोजना गरिने दाबी गरेका छन् । सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले यो वृहत् जनसभा मार्फत एमाले ‘जनता कसको पक्षमा छन्’ भन्ने स्पष्ट सन्देश दिन चाहन्छ भनी ठोकुवा गरेका छन् । उनले जनसभाको मुख्य उद्देश्य जनता हिंसा, अराजकता र लुटपाटको साथमा नभई एमालेको साथमा छन् भन्ने प्रमाणित गर्नु रहेको बताए ।

मङ्सिर २७ को केन्द्रीय जनसभालाई सफल पार्नका लागि पार्टीले देशभरि व्यापक जनपरिचालनको तयारी गरेको जनाएको छ । जसअनुसार कात्तिक २२ गते देशभरका सबै वडामा जनभेला, कात्तिक २५ गते पालिका स्तरमा जनर्‍याली, कात्तिक २९ गते सबै जिल्लाहरूमा सभा, मङ्सिर ६ गते काठमाडौँ उपत्यकामा सभा र मङ्सिर २७ गते काठमाडौँमा इतिहासकै सर्वाधिक ठूलो जनसभा गर्ने तयारी गरेको एमालेले जनाएको छ ।

एमालेको यो वृहत् जनपरिचालनको तयारीले आगामी दिनमा देशको राजनीतिक तापक्रम थप बढाउने र पार्टीभित्रको आन्तरिक शक्तिलाई थप सुदृढ गर्ने लक्ष्य लिएको देखिन्छ ।


सम्बन्धित समाचार
भर्खरै