१८ कार्तिक, काठमाडौँ । बेमौसमी वर्षाका कारण मधेससहित देशका विभिन्न क्षेत्रमा पाकेको धानबालीमा क्षति पुगेपछि यस वर्ष चामलको आयात उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ।
खेतबारीमा काट्न बाँकी रहेका धानबाली हावाहुरी र पानीले लडाएर सोत्तर पारेका छन् भने काटेर भित्र्याउन राखिएका धानका बाला र पराल पनि डुबेका छन्। पहेँलपुर भएर झुकेको र काटिएको धानमा पानीले क्षति पुर्याएपछि यस वर्ष धान उत्पादनमा गिरावट आउने प्रष्ट संकेत मिलेको कृषि विशेषज्ञहरूले बताएका छन्।
गत वर्ष धान उत्पादन हालसम्मकै उच्च विन्दुमा पुगे पनि नेपालले भारतलगायतका मुलुकबाट चामल आयात गर्नुपर्ने अवस्था थियो। यसपटक उत्पादन घट्ने भएकाले आयात थप बढ्ने निश्चित जस्तै भएको उनीहरूको भनाइ छ।
धान उत्पादन घट्ने अनुमान पहिले नै
कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ तीलकराज चौलागाईंका अनुसार, यो वर्ष रोपाइँ ढिलो र क्षेत्रफल कम भएकाले उत्पादन घट्ने अनुमान पहिले नै गरिएको थियो।
“रोपाइँ घटेकाले उत्पादनमा ५ देखि ७ प्रतिशतसम्म गिरावट आउँछ भन्ने आँकलन थियो,” चौलागाईंले भने, “अब वर्षे धान भित्र्याउने बेला बेमौसमी वर्षाले थप क्षति पुर्याएको छ, जसले चामलको गुणस्तर पनि घटाउनेछ।”
नेपालमा वर्षे र चैते गरी करिब ६२ लाख मेट्रिक टन धान आवश्यक पर्छ। गत वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन उत्पादन भए पनि चार–पाँच लाख टन चामलको अभाव थियो। यस वर्ष उत्पादन घट्दा ८–९ लाख टनसम्म आयात गर्नुपर्ने स्थिति आउन सक्ने विज्ञहरूको अनुमान छ।
तीन महिनामै आठ अर्बको धान-चामल आयात
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामै (साउन–असोज) ७ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको धान र चामल आयात भएको छ।
यस अवधिमा मात्र ५ अर्ब २१ करोड रुपैयाँको चामल र कनिका, २ अर्ब ७६ करोड रुपैयाँको धान, र ४ लाख रुपैयाँभन्दा बढीको धानको बीउ भित्रिएको तथ्यांकले देखाउँछ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७१ प्रतिशतले बढी हो।
गत आव २०८०/८१ को सोही अवधिमा ४ अर्ब ६० करोड रुपैयाँ बराबरको धान-चामल आयात भएको थियो।
पाँच वर्षमा दुई खर्बको आयात
पछिल्ला पाँच आर्थिक वर्षमा नेपालले १ खर्ब ९५ अर्ब रुपैयाँभन्दा बढीको धान र चामल आयात गरेको भन्सार तथ्यांकले देखाउँछ।
गत आव २०८०/८१ मा मात्रै ४० अर्ब १८ करोड रुपैयाँभन्दा बढीको धान–चामल भित्रिएको थियो। त्यस वर्ष नेपाली उपभोक्ताले ७ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको बासमती चामल मात्र खाएका थिए।
अघिल्ला वर्षहरूमा पनि आयात निरन्तर उच्च रहँदै आएको छ । २०७९/८० मा ३६ अर्ब ६७ करोड रुपैयाँ, २०७८/७९ मा ४७ अर्ब ५८ करोड रुपैयाँ, २०७७/७८ मा ५० अर्ब ७८ करोड रुपैयाँ बराबरको धान–चामल आयात भएको तथ्यांकले देखाउँछ।

















