Logo

१८ कार्तिक, काठमाडौँ । रुपन्देहीमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत उपभोग गर्दै आएका चार उद्योगहरूले लामो समयदेखि बाँकी रहेको प्रिमियम महसुलको रकम नेपाल विद्युत प्राधिकरणलाई तिरेका छन् ।

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डस्ट्रीज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिक उद्योगले सोमबार बक्यौताको पहिलो किस्ता बुझाएका हुन् ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार पहिलो किस्ता तिर्ने वित्तिकै उद्योगहरूको विच्छेद गरिएको विद्युत लाइन पुनःजडान गरिएको छ ।

उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापत तिर्नुपर्ने प्रिमियम महसुलको बक्यौता रकम किस्ताबन्दीमा बुझाउन थालेका हुन् ।

पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टीलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैर्या बक्यौता रहेको छ ।

यी उद्योगहरूले बक्यौता रकम २८ किस्तामा बुझाउने सहमति गरेका छन् । पहिलो किस्ता बुझाएपछि विद्युत आपूर्तिमा आएको अवरोध हटाइएको र बाँकी किस्ता नियमानुसार तिर्ने प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अधिकारीहरूका अनुसार, उद्योगहरूले किस्ताबन्दीमार्फत बक्यौता तिर्ने प्रतिबद्धता जनाएपछि अरू उद्योगहरूलाई पनि समयमै महसुल तिर्ने वातावरण बनाउन सहयोग पुगेको छ ।


सम्बन्धित समाचार
भर्खरै