Logo

१९ कार्तिक, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा बालबालिकालाई म्याद गुज्रिएको जापानी इन्सेफ्लाइटिस भ्याक्सिन वितरण गरिएको पाइएको छ। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा देखिएको यस लापरबाहीका कारण स्थानीय अभिभावक र समाजसेवीहरू आक्रोशित बनेका छन्।

मंगलबार वडा नं. ९ मा नियमित खोप अभियानका क्रममा म्याद गुज्रिएको भ्याक्सिन फेला परेपछि कार्यक्रम तुरुन्तै स्थगित गरिएको नगरपालिकाले जनाएको छ।

वडाध्यक्ष नवराज देवकोटाका अनुसार, नियमित खोप कार्यक्रमअन्तर्गत बालबालिकालाई लगाउने तयारी भइरहेकै बेला म्याद गुज्रिएको भ्याक्सिन भेटिएको हो। उनले भने, “यो अत्यन्त संवेदनशील विषय हो, यसमा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य छैन। तुरुन्तै खोप अभियान रोकेर सम्बन्धित निकायलाई जानकारी गराइएको छ।”

चन्द्रपुर नगरपालिकामा हरेक महिनाको १८ देखि २२ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रम यसपटक म्याद गुज्रिएको भ्याक्सिन भेटिएपछि स्थगित गरिएको हो।

नगरप्रमुख सञ्जयकुमार काफ्लेले अन्य वडाहरूमा पनि त्यस्तै म्याद गुज्रिएको खोप पुगेको हुनसक्ने आशंका व्यक्त गर्दै सम्पूर्ण खोप अभियान स्थगित गर्न निर्देशन दिएका छन्। उनले भने, “बालबालिकाको स्वास्थ्यसँग खेलबाड गर्नेहरूलाई कुनै हालतमा छुट दिइने छैन। जिम्मेवार कर्मचारीमाथि विभागीय कारबाहीको प्रक्रिया अघि बढाइनेछ।”

स्वास्थ्य शाखा प्रमुख राजेशकुमार ठाकुरले आफ्नै कमजोरीका कारण म्याद गुज्रिएको भ्याक्सिन स्वास्थ्यचौकीसम्म पुगेको स्वीकार गरेका छन्। नगर कार्यपालिकाले उनलाई अनुशासनात्मक कारबाहीको तयारी गरेको जनाएको छ।

चन्द्रनिगाहपुर सरकारी अस्पतालका प्रमुख डा. अभिनन्दन श्रीवास्तवले स्वास्थ्यकर्मीहरूको असावधानीकै कारण समस्या उत्पन्न भएको बताए। उनका अनुसार म्याद गुज्रिएको भ्याक्सिन विभिन्न वडामा वितरण भइसकेको हुनसक्ने भएकाले सबै ठाउँमा पुनः जाँच सुरु गरिएको छ।

घटना सार्वजनिक भएपछि स्थानीयवासी र अभिभावक आक्रोशित बनेका छन्। मंगलबार वडा नं. ९ को डुमरिया लगायतका स्वास्थ्यचौकीहरूमा खोप अभियान रोकिएको छ।

स्थानीय समाजसेवी तुलसीराज गिरीले यस घटनालाई बालबालिकाको स्वास्थ्यसँग खेलबाड भएको भन्दै तुरुन्त दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। उनले भने, “जसको लापरबाहीले म्याद गुज्रिएको भ्याक्सिन बालबालिकासम्म पुग्यो, उनीहरूलाई निलम्बन गरी कानुनी कारबाही गर्नुपर्छ। यस्तो लापरबाही क्षम्य छैन।”

घटनापछि चन्द्रपुर नगरपालिकाले सम्पूर्ण खोप केन्द्रमा रहेका भ्याक्सिनको म्याद जाँच गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन विशेष निगरानी समिति गठन गरेको जनाएको छ।


सम्बन्धित समाचार