१९ कात्तिक,वीरगञ्ज । बहुदरमाई नगरपालिका–५, पिप्रामा आजदेखि ऐतिहासिक पाँचदिने मेला विधिवत रूपमा सुरु भएको छ। कार्तिक पूर्णिमाको अवसरमा हरेक वर्ष लाग्ने यो मेला मधेशको पुरानो सांस्कृतिक र धार्मिक परम्परासँग जोडिएको मानिन्छ।
मेलाको शुभारम्भ स्थानीय मन्दिरमा विधिपूर्वक पूजा–अर्चना गरी गरिएको हो। पाँच दिनसम्म चल्ने यस मेलामा कुस्ती प्रतियोगिता, लोकनृत्य, गीत–संगीतका कार्यक्रम, विभिन्न मनोरञ्जनका साधन र धार्मिक झाँकीहरू प्रमुख आकर्षणका रूपमा रहेका छन्।
बहुदरमाई नगरपालिकाले मेलाको सुरक्षाका लागि पर्याप्त प्रहरी परिचालन, सरसफाइ र यातायात व्यवस्थापनमा विशेष ध्यान दिएको जनाएको छ।
मेला अवलोकन गर्न पर्सा, बारा, रौतहट लगायतका जिल्लाबाट हरेक वर्ष हजारौँको संख्यामा भक्तजन र दर्शक आउने गर्छन्। स्थानीय बासिन्दाका अनुसार पिप्राको यो ऐतिहासिक मेला धार्मिक श्रद्धा, सांस्कृतिक एकता र समुदायबीचको सहकार्यको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ।

















