१९ कात्र्तिक, काठमाडौं । नेपालको स्थानीय बजारमा सुनको भाउमा आज पनि गिरावट आएको छ । जसअनुसार आज प्रतितोला ११ सय रुपैयाँको कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिन मंगलबारको २ लाख ३८ हजार ३ सय रुपैयाँको तुलनामा निकै कम हो ।
मंगलबार पनि सुनको भाउमा १४ सय रुपैयाँको गिरावट आएको थियो, जसले गर्दा दुई दिनको अन्तरालमा मात्रै २५ सय रुपैयाँले भाउ घट्न पुगेको छ । यस वर्ष असोज ३१ गते कायम भएको प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड मूल्यबाट बजार भाउमा २० हजार ८ सय रुपैयाँको भारी कटौती भइसकेको छ ।
सुन मात्र नभई चाँदीको भाउमा पनि निरन्तर गिरावट आएको छ । बुधबार चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले घटेर २९९० रुपैयाँमा झरेको छ, जबकि अघिल्लो दिन ३०१५ रुपैयाँमा कारोबार भएको थियो। असोज ३१ गते प्रतितोला ३३५० रुपैयाँको रेकर्ड बनाएको चाँदीको भाउ पनि अहिले रेकर्ड मूल्यबाट ३६० रुपैयाँले तल झरेको छ।

















