Logo

१९ कात्तिक, पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थामा करिब ८८ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलासा भएको छ। संस्थाका अध्यक्ष, व्यवस्थापक, पूर्वपदाधिकारी र सञ्चालक सदस्यहरूको मिलेमतोमा उक्त रकम अनियमित रूपमा प्रयोग गरिएको र व्यक्तिगत स्वार्थका लागि दुरुपयोग भएको पाइएको छ।

पोखरा–९ नयाँबजारमा मुख्य कार्यालय रहेको सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, उपाध्यक्ष शम्भुराज बास्तोला, सचिव दिलबहादुर केसी खत्री, कोषाध्यक्ष हिरामणि दाहाल लगायत सञ्चालक समितिका सदस्य तथा पूर्वपदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। साथै, पूर्वसचिव ईन्द्रप्रसाद द्वा र सदस्य दोर्जे तामाङ पनि पक्राउ परेका छन्।

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार उनीहरूलाई जरुरी पक्राउ पुर्जीका आधारमा बुधबार बिहान पक्राउ गरी जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।

रजिस्ट्रारको कार्यालयले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनका अनुसार, सञ्चालक समितिका पदाधिकारी र व्यवस्थापकको गठजोडमा सहकारीका सिद्धान्त र कानुन विपरीत बचतकर्ताहरूको हितविपरीत रकम हिनामिना गरिएको हो। उनीहरूले काल्पनिक खाताहरू खोली, ऋणका नाउँमा रकम निकासी गरी अपचलन गर्ने, तथा सहकारीको कोष व्यक्तिगत प्रयोगमा ल्याउने कार्यहरू गरेको प्रमाण फेला परेको छ।

प्रतिवेदनमा उल्लेख अनुसार, “सहकारी संस्थालाई दुरुपयोग गरी अपचलन गरिएको रकम कसुरबाट प्राप्त भएको हो भन्ने जानीजानी, सोही रकमको व्यवस्थापनका लागि पूर्वयोजना बमोजिम कार्य गरिएको” देखिएको छ।

वित्तीय विश्लेषक निर्मल गौतमद्वारा तयार गरिएको प्रतिवेदनले, हिनामिनामा संलग्न व्यक्तिहरूमाथि सहकारी ठगी र सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) अन्तर्गत पनि अनुसन्धान गर्न सिफारिस गरेको छ।

२०७८ साल भदौ ६ गते सुरेन्द्रबहादुर गोदारको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित भएको थियो। सहकारी २०५९ साल वैशाख १२ गते विजय महर्जनको अध्यक्षतामा स्थापना भएको थियो।

हाल सहकारीमा करिब ३ हजार ५६ जना शेयर सदस्य रहेका छन्। सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले जेठ ११ गते छानबिनका लागि पत्राचार गरेपछि प्रहरीको अनुसन्धान प्रक्रिया तीव्र बनाइएको हो।

एसपी कार्कीका अनुसार, “पक्राउ परेकाहरूमाथि विस्तृत अनुसन्धान भइरहेको छ, र अन्य संलग्न व्यक्तिहरूलाई पनि कानुनी दायरामा ल्याउने तयारी भइरहेको छ।”

यसअघि पनि पोखराका सूर्यदर्शन, प्राइम, विन्ध्यवासिनी, मित्रमिलन, इमेज र बलिदानी बचत तथा ऋण सहकारीमा समेत ठुलो परिमाणमा रकम हिनामिनाको घटना बाहिर आइसकेका छन्।


सम्बन्धित समाचार