Logo

२० कार्तिक, काठमाडौँ । भारतको बिहार विधानसभाको पहिलो चरणको निर्वाचन आज हुँदैछ। भारतीय निर्वाचन आयोगका अनुसार पहिलो चरणअन्तर्गत आज १८ जिल्लाका १२१ वटा सिटमा मतदान हुँदैछ।

मतदान बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। तर ६ वटा विधानसभा क्षेत्रका २ हजार १ सय ३५ मतदान केन्द्रमा भने बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मात्र मतदान हुने व्यवस्था गरिएको छ।

यस चरणमा ४५ हजार ३ सय ४१ मतदान केन्द्रहरू स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ।

मतदान हुने जिल्लाहरूमा मधेपुरा, सहरसा, दरभंगा, मुजफ्फरपुर, गोपालगंज, सिवान, सारण, वैशाली, समस्तीपुर, बेगूसराय, खगडिया, मुंगेर, लखीसराय, शेखपुरा, नालंदा, पटना, भोजपुर र बक्सर रहेका छन्।

१२१ सिटका लागि २ हजार ४ सय ९६ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये १ हजार ९ सय ३९ उम्मेदवार वैध ठहरिएका छन्। उम्मेदवार फिर्ता प्रक्रिया सम्पन्न भएपछि १ हजार ३ सय १४ जना प्रत्याशी चुनावी प्रतिस्पर्धामा रहेका छन्।

पहिलो चरणमा १०२ सामान्य सिट र १९ अनुसूचित जातिका लागि आरक्षित सिटहरूमा मतदान भइरहेको छ।

निर्वाचनमा ३ करोड ७५ लाख १३ हजार ३०२ मतदाताले मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ।

करीब १३ करोड जनसंख्या भएको बिहारमा दोस्रो चरणको मतदान नोभेम्बर ११ मा हुने र मतगणना नोभेम्बर १४ मा गरिने भारतीय निर्वाचन आयोगले जनाएको छ।


सम्बन्धित समाचार