Logo

२० कार्तिक, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य देशभर उत्साहजनक रूपमा अघि बढिरहेको छ। दशैँ, तिहार र छठजस्ता चाडपर्वका कारण केही समय गति सुस्त भए पनि पछिल्ला दिनमा मतदाता दर्ता गर्ने नागरिकको संख्या तीव्र रूपमा बढ्न थालेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार सातै प्रदेशका सबै जिल्ला निर्वाचन कार्यालयहरूमा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली संकलन तथा अद्यावधिकको काम निरन्तर रूपमा भइरहेको छ। गत असोज ९ गतेदेखि सुरु गरिएको नामावली संकलन अभियानअन्तर्गत हालसम्म एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्।

आयोगले चालु महिनाभर नै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाएको छ। १६ वर्ष उमेर पूरा भई नागरिकता लिएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने तर फागुन २१ गते हुने चुनावमा मतदान गर्नका लागि भने फागुन २० गतेसम्म १८ वर्ष पूरा भएको हुनुपर्ने स्पष्ट पारेको छ।

नाम दर्ता गर्नका लागि इच्छुक व्यक्तिले सम्बन्धित जिल्ला निर्वाचन कार्यालय वा आयोगले तोकेको मतदाता नामावली दर्ता केन्द्रमा उपस्थित भई नागरिकताको प्रमाणपत्रसहित जैविक विवरण (बायोमेट्रिक) प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ।

आयोगले सेवाग्राहीको सहजताका लागि अनलाइनमार्फत ‘प्रि–रजिस्ट्रेसन’ (पूर्वदर्ता) प्रणाली पनि सुरु गरेको छ, जसबाट इच्छुक व्यक्तिहरूले कार्यालयमा उपस्थित हुनुअघि नै समय निर्धारण गर्न सक्छन्।

यदि कुनै व्यक्तिको स्थायी बसोबास नागरिकताको प्रमाणपत्रमा उल्लेख गरिएको ठेगानाभन्दा फरक ठाउँमा भएमा, नागरिकता प्रमाणपत्रसँगै बसाइँसराइ प्रमाणपत्र वा विवाह दर्ता प्रमाणपत्र पेस गर्नुपर्ने आयोगले जनाएको छ।

निर्वाचन आयोगले सबै योग्य नागरिकलाई निर्धारित अवधिभित्र नाम दर्ता गर्न आग्रह गर्दै, आगामी निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्न जनचेतनामूलक अभियान पनि सुरु गरेको जनाएको छ।


सम्बन्धित समाचार