Logo

२० कार्तिक, काठमाडौँ । गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा सिरहाको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएपछि गाउँपालिकाको सेवा प्रवाहमा गम्भीर समस्या देखिएको छ। भवन पूर्ण रूपमा ध्वस्त भएपछि हाल गाउँपालिकाले औरही अस्पतालको भवनबाट प्रशासनिक कामकाज सञ्चालन गर्दै सेवा निरन्तरता दिने प्रयास गरेको छ।

गाउँपालिका अध्यक्ष शिवजी यादवका अनुसार कार्यालय सञ्चालनका लागि तत्काल विकल्प नहुँदा अस्पतालको माथिल्लो तला प्रयोग गरी गाउँपालिकाको प्रशासनिक कामकाज सञ्चालन गर्न बाध्यता आएको हो।

“पुरानो भवन कामै नलाग्ने गरी ध्वस्त भएको छ। अहिले अस्पतालसँग सहकार्य गरेर कार्यालय सञ्चालन गरिरहेका छौँ,” अध्यक्ष यादवले भने, “गत वर्षदेखि नयाँ प्रशासकीय भवन निर्माण सुरु भएको हो, यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित द्रुतगतिमा काम भइरहेको छ।”

उनका अनुसार रू. ७ करोड ९४ लाख १८ हजार ८९० लागतमा नयाँ भवन निर्माण भइरहेको छ।

तर, अस्पताल र गाउँपालिका एउटै भवनमा सञ्चालन हुन थालेपछि स्वास्थ्य सेवा र प्रशासनिक दुवै क्षेत्रमा असहजता देखिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवशरण यादवका अनुसार कार्यालयका कर्मचारीलाई पर्याप्त स्थान नहुँदा दैनिक प्रशासनिक काम गर्न कठिनाइ भइरहेको छ।

हाल अस्पतालको माथिल्लो तलामा प्रमुख प्रशासकीय कक्ष, शिक्षा शाखा र स्वास्थ्य शाखा सञ्चालनमा छन्। कोठा अभावका कारण अस्पतालकै न्यायिक समितिको हललाई अध्यक्ष र उपाध्यक्षको कार्यकक्षका रूपमा प्रयोग गरिएको छ। यसैबीच कृषि, राजस्व र पशु शाखा भने कृषि तथा पशुपन्छी सेवा केन्द्रको छुट्टै भवनबाट सेवा दिइरहेका छन्।

अस्पताल प्रमुख उपेन्द्र यादवले भने, “गाउँपालिकाको कार्यालय अस्पतालमै सञ्चालन भएपछि बिरामीलाई स्वास्थ्य सेवा दिन कठिन भएको छ। सेवाग्राहीको भीडका कारण बहिरङ्ग सेवा, प्रसूति सेवा र अस्पताल प्रशासनका कामहरू प्रभावित भएका छन्।”

१५ शय्या क्षमताको अस्पतालमा हाल पाँच शय्या मात्रै सञ्चालनमा रहेको छ। दैनिक करिब एक सय बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ। स्थान अभाव र भीडभाडका कारण स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य सेवा दिन चुनौती व्यहोर्नुपरेको बताइएको छ।

स्थानीयवासीले सकेसम्म चाँडो नयाँ प्रशासकीय भवन निर्माण पूरा गरी अस्पताल र गाउँपालिकाको सेवा छुट्टाछुट्टै सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै