२० कात्र्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘ए डिभिजन लिग यस वर्ष नगरेर अर्को वर्ष मात्र गर्ने निर्णय गरेपछि खेलाडीहरू आन्दोलित भएका छन् ।
सोही निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा फुटबलरहरूले आज सातदोबाटोस्थित एन्फा मुख्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन् । संघले पटकपटक लिग स्थगित नगर्न आग्रह गर्दा पनि बेवास्ता गरिएको भन्दै खेलाडीहरूले खेल्न पाउने आफ्नो आधारभूत हक का लागि सडकमै उत्रिनुपरेको गुनासो गरेका छन् ।
एन्फाले यस वर्ष पुसमा राष्ट्रिय लिग गर्ने र त्यसपछि मात्र अर्को वर्षको पुसमा ‘ए’ डिभिजन लिग फुटबल सुरु गर्ने निर्णय गरेको छ, जसले गर्दा खेलाडीहरूको खेल जीवनमा असर पर्ने भन्दै विरोध भएको हो ।















