२० कात्तिक,वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा मतदाता नामावली दर्ता गराउने सेवाग्राहीहरूको भीड दैनिक रूपमा बढ्दै गएको छ। निर्वाचन आयोगले सुरु गरेको नाम दर्ता, संशोधन र अद्यावधिक कार्यमा नागरिकहरूको उत्साहजनक सहभागिता देखिएको छ।
प्रमुख निर्वाचन अधिकृत नवीन चौधरीका अनुसार निर्वाचनसम्बन्धी अध्यादेश असोज १० गते जारी भएपछि कार्तिक १९ गतेसम्म कुल ३ हजार ८५० जना नयाँ मतदाता थपिएका छन्। तीमध्ये २ हजार ४३७ पुरुष र १ हजार ४१३ महिला रहेका छन्।
चौधरीका अनुसार, “दैनिक दुई सयदेखि २५० जना सेवाग्राही नाम दर्ता, संशोधन र अद्यावधिकका लागि कार्यालय आउने गरेका छन्।” आयोगले नाम दर्ता र अद्यावधिकको म्याद कार्तिक मसान्तसम्म तोकेको छ।
त्यसैगरी, हालसम्म १७८ जनाले नाम, थर र ठेगानामा त्रुटि सच्याउने तथा अद्यावधिक गराउने कार्य गरेका छन्।
जिल्ला निर्वाचन कार्यालय बाराका नायब सुब्बा तथा सूचना अधिकारी मुकेशकुमार सिंहका अनुसार हालसम्म बारा जिल्लामा कुल ४ लाख ४० हजार ५१५ जना मतदाता रहेका छन्। तीमध्ये १ लाख ९९ हजार ३४३ जना महिला, २ लाख ४१ हजार १६१ जना पुरुष र ११ जना अन्य तेस्राे लिङ्गी छन्। यो तथ्याङ्क २०८२ असार मसान्तसम्मको हो।
सिंहका अनुसार, दरबन्दी अभावका बीच पनि कार्यालयले सहायक कर्मचारीहरूको सहयोगमा हरेक दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता, संशोधन र अद्यावधिकको कार्य नियमित रूपमा सञ्चालन गरिरहेको छ।
निर्वाचन नजिकिँदै जाँदा जनचासो र सहभागिता बढ्दै गएको देखिएको छ। स्थानीय तहका बासिन्दाहरू आगामी निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न उत्साहित छन्।
युवादेखि वृद्धासम्मका नागरिकहरू लोकतान्त्रिक अधिकारको प्रयोगका लागि उत्साहपूर्वक कार्यालय पुग्ने गरेका छन्।
निर्वाचन कार्यालयले नाम छुटेका मतदाताहरूलाई निर्धारित समयभित्र नाम दर्ता गर्न आग्रह गर्दै सूचना अभियान पनि सञ्चालन गरेको जनाएको छ।

















