२० कात्तिक, विराटनगर । भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अररिया जिल्लामा आयोजना हुने चुनावी सभामा सहभागी हुने कार्यक्रम तय भएपछि नेपाल–भारत सीमाक्षेत्रमा सुरक्षा सतर्कता कडाइ गरिएको छ।
अररिया जिल्लासँग सीमा जोडिएका मोरङ र सुनसरीका सीमाक्षेत्रमा नेपाली र भारतीय सुरक्षाकर्मीले संयुक्त रूपमा निगरानी र चेकजाँच थप मजबुत बनाएका छन्।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार, प्रधानमन्त्री मोदीको भ्रमणलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षाकर्मी सतर्क अवस्थामा छन्।
“सीमा क्षेत्रमा हामीले पहिलेदेखि नै सतर्कता बढाएका छौं,” उनले भने, “भारतीय प्रधानमन्त्री आज अररिया आउने भएकाले सम्भावित जोखिम रोक्न नाकामा कडाइ गरिएको छ।”
प्रहरी स्रोतका अनुसार भारतीय पक्षको अनुरोधमा मोरङ र सुनसरीका सीमाक्षेत्रमा विशेष सुरक्षा योजना लागू गरिएको छ। सर्वसाधारण आवागमनमा समेत कडाइ गरिएको र सवारी साधन तथा व्यक्तिहरूको विस्तृत चेकजाँच भइरहेको छ।
यसैबीच, बिहारका १८ जिल्लामा आज मतदान भइरहेको छ भने मोरङ र सुनसरीसँग जोडिएका भारतीय जिल्लाहरूमा नोभेम्बर ११ तारिखमा मतदान हुने कार्यक्रम छ।
सुरक्षा निकायका अनुसार प्रधानमन्त्री मोदीको सभा र मतदान दुवै अवधिमा सीमा क्षेत्रमा उच्च सतर्कता कायम रहनेछ।

















