Logo

२० कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्ष ए डिभिजन लिग नगरी अर्को वर्ष मात्र गर्ने निर्णय गरेपछि असन्तुष्ट खेलाडीहरू शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा प्रदर्शनमा उत्रिएका छन्।

नेपाल फुटबल खेलाडी संघको आयोजनामा भएको उक्त प्रदर्शनमा खेलाडीहरूले एन्फा गेटमै आफ्ना मेडलहरू झुन्ड्याएर विरोध जनाए।

खेलाडीहरूले खेलेर आफ्नो जीविकोपार्जन गर्ने अधिकार खोसिएको भन्दै लिग स्थगनको निर्णय फिर्ता लिन माग गरेका छन्।
खेलाडी संघका अध्यक्ष विक्रम लामाले भने, “हामी आफ्नो खेल्ने हकका लागि सडकमा आउन बाध्य भएका हौं। अब यो मेडल एन्फाले आफैं आएर लाओस्, हामीले यहीँ छाडेर जान्छौं।”

लामाका अनुसार, पटक–पटक अनुरोध गर्दा पनि एन्फाले लिग स्थगनको निर्णय नगर्ने आश्वासन नदिएपछि खेलाडीहरू सडकमा आउन बाध्य भएका हुन्।

एन्फाले यस वर्षको पुसमा राष्ट्रिय लिग गर्ने र अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग सुरु गर्ने निर्णय गरेको हो।

खेलाडीहरूले भने सो निर्णयले फुटबलरहरूको करियर र आर्थिक अवस्था दुवैमा प्रतिकूल असर पर्ने भन्दै तत्काल लिग सञ्चालन गर्न आग्रह गरेका छन्।

एन्फा परिसरमा गरिएको प्रदर्शनमा राष्ट्रिय टिमका खेलाडीसहित विभिन्न क्लबका दर्जनौं खेलाडीको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार