Logo

२० कात्तिक,वीरगञ्ज । ‘जेन्जी’का नाममा गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको वीरगञ्ज महानगरपालिकालाई पुनः सहज रूपमा सञ्चालनमा ल्याउन सहयोगी हातहरूबाट सहयोग प्राप्त हुने क्रम जारी छ।

महानगरको भवन र कार्यालयका सामग्री पूर्ण रूपमा नष्ट भएपछि सेवा प्रवाहमा ठूलो असर परेको थियो। तर, हाल विभिन्न संघ–संस्था, उद्योग–व्यवसायिक घराना र सामाजिक सङ्गठनहरूले महानगरलाई आवश्यक उपकरण र सामग्री उपलब्ध गराउँदै सेवा पुनःस्थापना अभियानमा साथ दिइरहेका छन्।

यसै क्रममा बिहीबार वीरगञ्ज–२१ परवानीपुरस्थित केएनपी जापान प्रालिले महानगरपालिकालाई २ थान कम्प्युटर सेट सहयोग गरेको छ।
यो सहयोग महानगरका सद्भावना दूत तथा वरिष्ठ उद्योगी अशोक वैद्यको पहलमा गरिएको हो।

वैद्यको पहलमा यसअघि ब्रिटानिया नेपालले २० थान अफिस कुर्सी उपलब्ध गराएको थियो। उनले भने, “महानगरको सेवा प्रवाहमा अवरोध आउन नदिन विभिन्न उद्योगी–व्यवसायीसँग समन्वय गर्दै आवश्यक उपकरण उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइरहेको छु।”

यसअघि सूर्य नेपाल प्रालि, वीरगञ्ज उद्योग वाणिज्य संघ, एनपीएल समाज कल्याण संस्था, र औषधी व्यवसायी सङ्घले समेत ल्यापटप, कम्प्युटर, प्रिन्टर, टेबल–कुर्सी लगायतका सामग्री सहयोग गरिसकेका छन्।

महानगर प्रमुख राजेशमान सिंहले कठिन समयमा साथ र सहयोग गर्ने सबै संघ–संस्था तथा उद्यमी समुदायप्रति आभार व्यक्त गर्दै भने,
“महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो। यस्तो कठिन घडीमा सहयोगका हात अघि बढाउनु हामी सबैका लागि हौसला दिने कार्य हो। यसले महानगरलाई फेरि उठ्न प्रेरणा दिएको छ।”

उनका अनुसार, प्राप्त सामग्रीहरू प्राथमिक रूपमा प्रशासनिक कार्य सञ्चालनका लागि प्रयोग गरिने छन्।
साथै, महानगरले आगामी दिनमा अन्य आवश्यक उपकरणका लागि पनि निजी क्षेत्र र दातृ निकायहरूसँग सहकार्य जारी राख्ने जनाएको छ।


सम्बन्धित समाचार