Logo

२० कात्तिक,वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–११ छोटकी फूलवरियास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय र वीरगञ्ज महानगरपालिका–१५ भेडियाहीस्थित सामुदायिक विद्यालयका बालबालिकालाई केन्द्रमा राखी बनाइएका भिडिओ सामग्रीबारे सामाजिक संस्था सानो पाइलाले कडा आपत्ति जनाएको छ।

वीरगञ्ज सिटी, वीरगञ्ज चर्चा न्यूज र एसटिपी खबर नामक अनलाइन मिडियाका फेसबुक पेजहरूबाट सार्वजनिक ती भिडिओले “विद्यालयको दुरावस्थालाई देखाउने नाममा बालबालिकाको गोपनीयता, मनोविज्ञान र अधिकारमाथि गम्भीर आघात” पुर्‍याएको सानो पाइलाको ठहर छ।

संस्थाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,

“विद्यालयभित्र अध्ययनरत बालबालिकालाई प्रश्न सोध्दै उनीहरूको दृश्य सामाजिक सञ्जालमा अपलोड गर्नु जिम्मेवार पत्रकारिता होइन। यसले बालबालिकाको मनोवैज्ञानिक अवस्था र अधिकार दुवैमा दीर्घकालीन असर पार्छ।”

सानो पाइलाले मधेसका सरकारी विद्यालयमा विद्यमान समस्या स्वीकार गर्दै पनि बेथिति उजागर गर्न वैकल्पिक र संवेदनशील माध्यम अपनाउनुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा बालबालिका ऐन, २०७५ को धारा ८ र ६६, संविधानको धारा २८ (गोपनीयताको हक) र धारा ३९ (बाल अधिकार) तथा प्रेस काउन्सिल नेपालको मिडिया आचारसंहिताको हवाला दिँदै यस्ता भिडियोहरूले बाल सुरक्षा कानुनको उल्लङ्घन गरेको उल्लेख छ।

आचारसंहिताअनुसार बालबालिकासँग अन्तर्वार्ता लिनुअघि अभिभावक वा विद्यालय प्रशासनको अनुमति लिनुपर्ने र बालकको पहिचान खुल्ने गरी सामग्री सार्वजनिक नगर्नुपर्ने व्यवस्था स्पष्ट छ।

संस्थाले सम्बन्धित मिडिया हाउस र पत्रकारहरूलाई भिडियोबाट बालबालिकाका दृश्य हटाउन, सामग्री पुनरावलोकन गर्न र भविष्यमा बालमैत्री पत्रकारिता अभ्यास गर्न आग्रह गरेको छ।

“अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै पनि पत्रकारिता नैतिक मापदण्ड र मानवअधिकारप्रति जबाफदेही हुनुपर्छ,” विज्ञप्तिमा भनिएको छ।

सानो पाइलाले बाल अधिकार प्रवर्द्धनका लागि विभिन्न निकायसँग सहकार्य गर्दै आएको र यो घटनाले पत्रकारितामा नैतिक जिम्मेवारीको आवश्यकता पुनः स्मरण गराएको जनाएको छ।

यसैबीच, सञ्चारकर्मी आशु कुमार सर्राफले सामाजिक सञ्जालमार्फत यस्तो गतिविधिलाई “पत्रकारिताको नाममा अनैतिक अभ्यास” भन्दै विरोध जनाएका छन्।
उनका अनुसार, “विद्यालयमा प्रवेश गरेर बालबालिकालाई प्रश्न गरी भिडियो बनाउने काम कुनै कोणबाट पनि पत्रकारिता होइन।”

सर्राफले शिक्षा क्षेत्रका समस्या देखाउन तथ्यमा आधारित रिपोर्टिङ, विशेषज्ञ अन्तर्वार्ता र तथ्याङ्क विश्लेषण जस्ता विधि अपनाउन सुझाव दिएका छन्।
उनले चेतावनी दिंदै भनेका छन्, “बालबालिकाको भिडियो सामाजिक सञ्जालमा अपलोड गरी उनीहरूको मानमर्दन गर्नुले मनोसामाजिक स्वास्थ्यमा दीर्घकालीन असर पार्छ।”

सर्राफले पर्सा जिल्लामा पत्रकारिताको नाममा देखिएको यस्तो प्रवृत्ति “सामाजिक समस्या” बन्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ, शैक्षिक इकाइहरू, पत्रकार महासङ्घ, र बाल अधिकार संस्थाहरूलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै