Logo

२० कात्तिक,वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालले जिल्लाको सुशासन र सेवा प्रवाहमा कुनै किसिमको सम्झौता नगर्ने दृढता व्यक्त गरेका छन्। तीन दिनअघि जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा भएर आएका दाहालले बिहीबार सञ्चारकर्मीहरूसँगको साक्षात्कारमा आफू नागरिक सेवाका लागि आएको भन्दै सेवामा ढिलासुस्ती र लापरबाही सह्य नहुने प्रतिबद्धता जनाएका हुन्।

दाहालका अनुसार पर्सा आफ्नो चौथो कार्यक्षेत्र हो। यसअघि उनले सप्तरीमा ११ महिना सेवा गरेको बताउँदै मधेसका जिल्लाका समस्या र संवेदनशीलता राम्ररी बुझेको उनले बताए। “कुनै पनि समस्या समाधानका लागि सकारात्मक सोच र सहकार्य आवश्यक हुन्छ,” उनले भने, “मेरो कार्यकालमा नागरिकलाई दुःख दिने काम हुँदैन।”

प्रजिअ दाहालले पर्सा पुगेपछि जिल्लास्थित सबै सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गरिसकेका छन्। उनले सरकारी सेवामा ढिलासुस्ती वा नागरिकलाई अनावश्यक दुःख दिने काम भएमा आफूलाई सीधै सम्पर्क गर्न आग्रह गरेका छन्।

सीमाक्षेत्रबाट हुने अवैध ओसार–पसार, चोरी तस्करी र अपराध नियन्त्रणमा कडाइका साथ काम गर्ने उनले प्रतिबद्धता जनाए। साथै नागरिकता र राष्ट्रिय परिचयपत्रका सेवामा अनावश्यक सर्जिमिन र मुचुल्का माग्ने प्रवृत्ति अन्त्य गरिने पनि उनले स्पष्ट पारे।

उनका अनुसार सरकारी कर्मचारीको बोली–व्यवहारले सिंगो राज्यको छवि बनाउने भएकाले सेवाग्राहीप्रति नम्रता र उत्तरदायित्वका साथ व्यवहार गर्नुपर्नेछ। “कसैको दबाब वा प्रभावमा काम गर्दिनँ,” दाहालले भने, “कानून र प्रक्रिया अनुसारका काममा ढिलासुस्ती सह्य हुनेछैन।”

साक्षात्कार कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, पूर्व अध्यक्ष दीपेन्द्र चौहान, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर नेपालका मधेस प्रदेश अध्यक्ष नीरज पिठाकोटे, प्रेस चौतारी नेपालका मधेस प्रदेश अध्यक्ष लालबबु शेष, पर्सा अध्यक्ष निरञ्जन मिश्र लगायतका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार
भर्खरै