२० कात्तिक,वीरगञ्ज । मधेश प्रदेश, जनकपुरधाम – प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाले बाराको पथलैया स्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय निरीक्षण गरी ट्राफिक प्रहरीलाई आवश्यक निर्देशन दिएका छन्।
बिहीबार दिउँसो पथलैया पुगेका डिआइजी थपलियाले कार्यालयका सम्पूर्ण शाखा र ब्यारेक भवनको अवलोकन गरे। निरीक्षणको क्रममा उनले कार्यालयका अधिकारी तथा मातहत युनिट इन्चार्जहरूलाई राजमार्गमा सुरक्षात्मक सतर्कता, यातायात व्यवस्थापन, दुर्घटना नियन्त्रण, र सवारी चाप व्यवस्थापनमा प्रभावकारी कार्यन्वयनका लागि निर्देशन दिएका छन्।
उनले ट्राफिक प्रहरीलाई जनतासँग व्यवहारमैत्री र अनुशासित रहँदै आफ्नो कर्तव्य निर्वाह गर्न जोड दिएका थिए।
निरीक्षण कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख, विभिन्न शाखा प्रमुख तथा ट्राफिक प्रहरी युनिटका इन्चार्जहरू पनि उपस्थित थिए।
डिआइजी थपलियाले आगामी दिनमा ट्राफिक व्यवस्थापन अझ प्रभावकारी बनाउन आवश्यक कदम चाल्ने तयारी भइरहेको बताएका छन्।















