२१ कार्तिक, काठमाडौँ । भारतको बिहार राज्यमा सम्पन्न विधानसभा चुनावको पहिलो चरणको मतदान उच्च उत्साहका साथ सम्पन्न भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार बिहीबार सम्पन्न पहिलो चरणमा १८ जिल्लाका १२१ विधानसभा क्षेत्रमा मतदान भएको हो ।
चुनावमा करिब तीन करोड ७५ लाखभन्दा बढी मतदाताले मताधिकार प्रयोग गरेका छन् । आयोगले राति सवा आठ बजे विवरण सार्वजनिक गर्दै ६४.६६ प्रतिशत मतदाताको सहभागिता भएको जानकारी दिएको छ । यो दर विगतका चुनावहरूको तुलनामा सबैभन्दा उच्च मतदाता सहभागिता भएको बताइएको छ ।
भारतीय सञ्चारमाध्यम बीबीसी हिन्दीका अनुसार मतदानका क्रममा केही साना विवाद र सामान्य घटनाबाहेक अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।
अब आगामी नोभेम्बर ११ मा दोस्रो चरणको मतदान हुनेछ भने नोभेम्बर १४ मा मतगणना हुने कार्यक्रम भारतीय निर्वाचन आयोगले तय गरेको छ ।

















