Logo

२१ कात्र्तिक, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकको प्रकाशित तथ्याङ्क अनुसार यस अवधिमा बैंकले १ अर्ब २२ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गर्न सफल भएको छ । यससँगै बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३८ पैसा कायम भएको छ ।
यद्यपि, बैंकको खुद नाफा भने गत वर्षको तुलनामा उल्लेख्य मात्रामा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा २८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २२ करोड ४७ लाख रुपैयाँमा खुद नाफा सीमित गर्न पुगेको छ । यसरी खुद नाफामा २० दशमलव २४ प्रतिशतको गिरावट आएको छ ।

खुद नाफा घट्नुको मुख्य कारण इम्पेरमेन्ट चार्जमा भएको वृद्धि हो । बैंकको खुद ब्याज आम्दानी ६ दशमलव ७३ प्रतिशतले सामान्य बढे पनि इम्पेरमेन्ट चार्ज ३८ करोड ७७ लाख रुपैयाँबाट बढेर ५४ करोड ११ लाख रुपैयाँ पुगेको छ । यसैको कारण बैंकको सञ्चालन मुनाफा २० दशमलव ३७ प्रतिशतले घट्न पुग्यो, जसले खुद नाफालाई पनि प्रभावित गर्‍यो । यद्यपि, बैंकको कुल सञ्चालन आम्दानी ५ दशमलव ७२ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी भने १९ दशमलव ८९ प्रतिशतले घटेको देखिन्छ।

नाफामा आएको गिरावटसँगै बैंकको प्रतिशेयर आम्दानी पनि प्रभावित भएको छ। समीक्षा अवधिमा ईपीएस २ रुपैयाँ २४ पैसा घटेर १२ रुपैयाँ ७६ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४ दशमलव १३ गुणा कायम भएको छ। बैंकले यस अवधिसम्ममा १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।


सम्बन्धित समाचार