२१ कात्र्तिक, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मुलुकमा घोषित निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित ढंगले सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण कदम चाल्न अन्तरिम सरकारसँग विशेष आग्रह गरेका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले शान्ति सुरक्षासहित सबै पक्षलाई निर्वाचनमा सहज ढंगले सहभागी हुन सक्ने वातावरण निर्माण गर्न सरकारलाई अनुरोध गरेका हुन्। उनले सरकारले यो विषयलाई गम्भीरताका साथ लिने विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले आफ्नो सम्बोधनका क्रममा राष्ट्रिय सभा सञ्चालनका लागि देखिएका कानुनी जटिलता र अस्पष्टताहरू लाई पनि सरकारले अविलम्ब समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले ती असहजता र अस्पष्टताहरूलाई सरकारले गम्भीरताका साथ लिएर समाधानको दिशामा अगाडि बढ्नुपर्ने बताएका छन् ।
यसका साथै, अध्यक्ष दाहालले राष्ट्रिय सभा बैठक सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई पनि सरकारले प्राथमिकता दिनुपर्ने जरुरी रहेको औँल्याएका छन् । राष्ट्रिय सभाले सरकारलाई महत्त्वपूर्ण सहयोग गर्ने भएकाले यसको बैठक सञ्चालनका लागि सरकार सक्रियतापूर्वक लाग्नुपर्ने उनको भनाइ छ।















