२१ कात्र्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको मागलाई लिएर आम जनता आन्दोलित हुनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित बुद्धिजीवी भेलामा बोल्दै ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले नै पुनर्स्थापना गर्नुपर्ने तर्क गरेका हुन् । अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको आफ्नो पार्टीको माग सत्य भएको जिकिर गर्दै यसको पक्षमा सबै नेपाली जनता उभिनुपर्ने बताए ।
‘जसले विघटन गर्छ, त्यसले पुनर्स्थापना गर्छ। कि त अदालतले गर्छ। होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नु पर्छ,’ उनले भने। उनले राष्ट्रपतिलाई प्रश्न गर्दै थपे, ‘असंवैधानिक ढङ्गले विघटन गर्नसक्ने, पुनर्स्थापना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले ? पुनर्स्थापना गर्नुपर्यो नि।’
ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर आन्दोलनमा उत्रन सबैलाई आह्वान गरे। उनले वर्तमान अन्तरिम सरकारलाई असंवैधानिक भएको भन्दै त्यसको कुनै हैसियत नरहेको कुरा पनि दोहोर्याए।















