२१ कात्र्तिक, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)का अध्यक्ष उपेन्द्र यादवले विभिन्न कालखण्डमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई संकोच वा अप्ठ्यारो नमानिकन आफ्नो पुरानै घरमा फर्किनका लागि भावुक आह्वान गरेका छन् ।
ललितपुरको इमाडोलमा बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष यादवले जसपा नेपालको ढोका उहाँहरूका लागि सधैँ खुला रहेको स्पष्ट पारेका हुन् । यादवले पार्टी स्थापनाकालदेखि नै कुनै पनि कारणले असन्तुष्ट भएर बाहिरिएका नेता(कार्यकर्ताहरूलाई पार्टीमा स्वागत रहेको बताएका छन्। उनले भने, ‘जसपा नेपाल हामी सबैको साझा सङ्गठन भएकोले जुनै कारणले पार्टी परित्याग गरे पनि पुनः फर्किन कसैले दुःख, धक, सङ्कोच वा अप्ठ्यारो मान्नु पर्दैन।’ मुलुकको विकसित राजनीतिक परिदृश्यलाई मध्यनजर गर्दै पार्टीलाई थप सङ्गठित, समावेशी र बृहत् बनाउने उद्देश्यले जसपा नेपालले पार्टी छाडेकाहरूलाई पुरानै घर फर्काउने अभियानलाई प्राथमिकताका साथ सञ्चालन गर्ने जनाएको छ।
अध्यक्ष यादवले पार्टीमा फर्कने नेता–कार्यकर्ताहरूलाई उनीहरूको क्षमता, दक्षता र योग्यता अनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिइने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।















