Logo

२२ कार्तिक, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ।

काठमाडौँ मेडिकल कलेज (केएमसी) मा गएराति २:५८ बजे उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

६३ वर्षीय आलम पछिल्लो केही समयदेखि गम्भीर स्वास्थ्य समस्याबाट ग्रस्त थिए। मुटु, मृगौला र स्नायुसम्बन्धी जटिलता देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। स्वास्थ्य अवस्था झनै बिग्रिएपछि केही साताअघि भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि लगिएको थियो। चिकित्सकको परामर्शअनुसार घरमै सेवा-सुसारमा राख्न सुझाव आएपछि उनी पुनः नेपाल फर्किएका थिए। फर्किएलगत्तै उनलाई पुनः केएमसीमा भर्ना गरिएको थियो।

आलमको पार्थिव शरीर अन्त्येष्टिका लागि रौतहटको राजपुर लगिएको सुरक्षास्रोतले जनाएको छ।

रौतहटमा मुस्लिम समुदायको प्रभावशाली राजनीतिक व्यक्तित्वका रूपमा स्थापित आलमले २०५६ र २०६४ सालको प्रतिनिधिसभा निर्वाचन नेपाली कांग्रेसबाट जितेका थिए। उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र नेता मानिन्थे। श्रम तथा रोजगार मन्त्रीका रूपमा कार्यसम्पादन गरेका उनले कांग्रेसभित्र मधेसी-मुस्लिम समुदायको संगठित नेतृत्व निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

आलम २०७६ सालमा २०६४ सालको संविधानसभा चुनावपूर्व रौतहटको राजपुरमा भएको बम विस्फोट प्रकरणमा संलग्नता आरोपमा पक्राउ परेका थिए। विस्फोटमा घाइतेहरूलाई उपचार नगरी ईँटाभट्टामा जलाएको अभियोगमा जिल्ला अदालत रौतहटले उनलाई जन्मकैदको सजाय सुनाएको थियो। तर उच्च अदालतले सो फैसला उल्ट्याउँदै आलमसहितका प्रतिवादीलाई सफाइ दिएको थियो। सो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ।

नक्खु कारागारमा रहँदा नै उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। ब्रेन स्ट्रोक, मृगौला क्षति र आन्द्रा संक्रमण जस्ता समस्या देखिएपछि उनलाई पटक–पटक अन्नपूर्ण न्यूरो, वीर अस्पताल र केएमसीमा उपचार गरिएको थियो।

उनको निधनपछि नेपाली कांग्रेस, स्थानीय राजनीतिक नेतृत्व, मुस्लिम समुदाय र शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

स्वर्गीय आलमको राजनीतिक यात्रा सशक्त संगठनकर्ता, मधेसी-मुस्लिम समुदायको आवाजका प्रतिनिधि, र विवादास्पद मुद्दाबाट घेरिएको नेताका रूपमा चिनिने रह्यो। उनका योगदान र विवाद दुवैले उनलाई नेपाली राजनीतिमा बहसयोग्य र स्मरणीय पात्रका रूपमा स्थापित गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै