२२ कार्तिक, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल आज दिउँसो विश्वासको मत लिँदै छन् । मधेस प्रदेश सभाको बैठकमा दिउँसो १ बजे विश्वासको मत प्रस्तुत गरिने कार्यक्रम तय भएको छ । उनी नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम आज विश्वासको मत लिन लागेका हुन् ।
दुई दलको थप समर्थन
विश्वासको मतअघि सोनल नेतृत्वको सरकारलाई दुई नयाँ दल (नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी) को समर्थन प्राप्त भएको छ। शुक्रबार साँझ मुख्यमन्त्री सोनलसँग भएको भेटघाटपछि दुवै दलले सरकारलाई विश्वासको मत दिने प्रतिबद्धता जनाएका हुन् ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार यी दुई दलको समर्थनले सोनल सरकारलाई थप स्थायित्व र सहजता प्राप्त हुने अपेक्षा गरिएको छ । मुख्यमन्त्रीका स्वकीय सचिव रमेश सर्राफले भने, “विश्वासको मतका तयारी तीव्र भइरहेका बेला यी दलहरूको समर्थनले प्रदेशसभामा सरकारका लागि सहज वातावरण तयार भएको छ।”
नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूले सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन् । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले पनि प्रदेशको विकास, स्थायित्व र जनताका मुद्दामा सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
मुख्यमन्त्री सोनलले विश्वासको मत पाएपछि मात्रै मन्त्रालय बाँडफाँड र मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन्। हालसम्म उनले पाँच दलको समर्थनमा सरकार गठन गरेका थिए।
सोनललाई ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त गरिएको थियो। तर, जनमत पार्टीबाट अलगिएर दुई सांसद जनस्वराज पार्टीमा गएपछि र जसपा सांसद सरोज सिंह कुशवहा निलम्बित भएपछि उनको मत संख्या तीनले घटेको छ। तर, नयाँ दुई दलको समर्थनले सोनललाई ५५ मतको समर्थन प्राप्त हुने देखिन्छ।
संख्यात्मक समीकरण सोनलको पक्षमा
मधेस प्रदेशसभामा हाल १०४ जना सदस्य कायम छन्। बहुमतका लागि ५३ मत आवश्यक पर्ने भएकाले ५५ मतसहित सोनल सरकारको बहुमत सुनिश्चित भएको देखिन्छ ।
सोनललाई जसपा नेपालको १८ जना, जनमत पार्टीका ११ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा (एकीकृत समाजवादी) का ७ जना, नागरिक उन्मुक्ति पार्टीका १ जना र नेपाल संघीय समाजवादी पार्टीका १ जना सांसदको समर्थन प्राप्त छ।
सबैभन्दा ठूलो दल नेकपा एमाले (२३ जना) र दोस्रो ठूलो दल नेपाली कांग्रेस (२२ जना) भने प्रतिपक्षमा बस्नेछन्।
मुख्यमन्त्री सोनलले विगतदेखि नै विभिन्न दलहरूसँग संवाद र सहकार्यका माध्यमबाट मधेस प्रदेशको राजनीतिक स्थायित्व र विकासलाई प्राथमिकतामा राख्दै आएका छन्।राजनीतिक विश्लेषकहरूका अनुसार, नयाँ दलहरूको समर्थनले सोनल सरकारको दीर्घकालीन स्थायित्व र नीतिगत निरन्तरताका लागि सकारात्मक सन्देश दिएको छ।
आजको प्रदेशसभा बैठकलाई मधेस प्रदेशको पछिल्लो राजनीतिक दिशा र शक्ति सन्तुलनको निर्णायक क्षणका रूपमा हेरिएको छ।















