२२ कार्तिक, काठमाडौँ । लमजुङमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार मर्स्याङ्दी गाउँपालिका–३, खुदिबाट सोही गाउँपालिका–६, नाइचेस्थित हिडिखोला जलविद्युत् आयोजना तर्फ सिमेन्ट लिएर जाँदै गरेको बा ८ च ३७३१ नम्बरको बोलेरो जिप शुक्रबार राति दुर्घटनामा परेको हो ।
दुर्घटनामा जिप चालक दोलखा जिल्ला मेलुङ गाउँपालिका–४ का ३० वर्षीय विनोद खड्का र सोही ठाउँका २५ वर्षीय पारस खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार जिप अनियन्त्रित भई सडकबाट करिब ८०० मिटर तल खसेपछि उनीहरू गम्भीर घाइते भएका थिए ।
घाइते अवस्थामै उद्धार गरी उपचारका लागि बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल, बेँसीसहर पुर्याइए पनि उपचारकै क्रममा दुवैजनाको मृत्यु भएको क्षेत्रीले जानकारी दिए ।
त्यस्तै, सोही जिपमा सवार ताप्लेजुङको सिदीङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बू भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

















