Logo

२२ कार्तिक, काठमाडौँ । टर्कीले गाजामा नरसंहार गरेको आरोपमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, रक्षामन्त्री, सेना प्रमुखसहित वरिष्ठ सरकारी अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

समाचार एजेन्सी एएफपीका अनुसार टर्की सरकारले शुक्रबार उक्त कदम चालेको हो। इस्लामिक सहयोग संगठन (OIC) का केही देशहरूले गाजामा भइरहेको मानवीय संकटबारे कडा आलोचना गर्दै आएका बेला टर्कीको यो कदमलाई अन्तर्राष्ट्रिय रूपमा ठूलो राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

इस्तानबुल अभियोजकको कार्यालयले विज्ञप्ति जारी गर्दै कुल ३७ जना संदिग्धविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाएको छ। तर सम्पूर्ण सूची सार्वजनिक गरिएको छैन। पक्राउ पुर्जीमा प्रधानमन्त्री नेतन्याहुसँगै इजरायली रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्विर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिरको नाम समावेश गरिएको बताइएको छ।

अभियोजन पक्षका अनुसार ती अधिकारीहरूले “गाजामा योजनाबद्ध रूपमा नरसंहार र मानवताविरुद्धका अपराध” गरेको आरोप लागेको छ।

यस घटनाप्रति इजरायलले तीव्र आपत्ति जनाएको छ। इजरायलका विदेशमन्त्री गिदोन सारले उक्त निर्णयलाई “टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान नामका तानासाहको नयाँ राजनीतिक नाटक” भन्दै कडा आलोचना गरेका छन्।

इजरायलले गाजामा आफ्नो कारबाहीलाई आत्मरक्षाका लागि गरिएको दाबी गर्दै आएको छ भने टर्कीले इजरायली कारबाहीलाई “मानवता र अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन” बताउँदै आएको छ।


सम्बन्धित समाचार