Logo

२२ कात्तिक,काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले शुक्रबार बेलुकी प्रभु बैंकमा छापा मारेको छ। प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेपछि अनुसन्धानका लागि आवश्यक कागजात छानबिनका क्रममा छापा मारिएको हो।

सीआईबी प्रमुख एआईजी डा. मनोजकुमार केसीका अनुसार गम्भीर आर्थिक अपचलनसम्बन्धी जाहेरीपछि बैंकका विभिन्न फाइल र कागजात नियन्त्रणमा लिइएका छन्।
‘आवश्यक फाइल हाम्रो नियन्त्रणमा छ, नेपाल राष्ट्र बैंकसँग सहकार्य गरेर ती फाइलमाथि छानबिन सुरु भएको छ,’ एआईजी केसीले बताए।

भट्टचनविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँ ठगी भएको भन्दै जाहेरी दर्ता गरेकी थिइन्। सोही जाहेरीका आधारमा भट्टचनलाई कात्तिक ११ गते ललितपुरबाट पक्राउ गरिएको थियो।

लामाको जाहेरी गत वर्ष असोज ११ गते नै सरकारी वकिलको कार्यालयमार्फत प्रहरी परिसर, काठमाडौंमा पठाइएको थियो, तर अनुसन्धान अघि नबढेपछि सीआईबीले हस्तक्षेप गर्दै मुद्दा हातमा लिएको हो।

सिआइबी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा थप १८ करोड रुपैयाँ ठगीमा अन्य व्यक्तिहरूको संलग्नता पनि देखिएको छ र यस मुद्दामा संगठित अपराधको अभियोगमा पनि मुद्दा चलाउने तयारी भइरहेको छ।


सम्बन्धित समाचार