२२ कात्तिक, वीरगञ्ज । भारतको बिहार राज्यमा हुने विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै पर्सा जिल्लास्थित नेपाल–भारतका सबै नाका आज (शनिबार)देखि बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनाअनुसार कार्तिक २२ गतेदेखि २५ गते साँझ ६ बजेसम्म सबै प्रकारको आवागमनमा रोक लगाइएको हो। नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (BDCC) मा भएको निर्णयअनुसार उक्त अवधिभर भारततर्फ र भारतबाट नेपालतर्फको आवतजावत पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, “निर्वाचनका समयमा सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै सीमाका सबै नाकामा पूर्ण रूपमा आवागमन रोक लगाइने भएको छ।”
तर अत्यावश्यक सेवा र आपतकालीन आवागमनका सवारी साधन प्रशासनको अनुमति लिएर मात्रै सञ्चालन गर्न सकिने जनाइएको छ।
बिहारमा नोभेम्बर ११ मा हुने विधान सभा निर्वाचनका कारण सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सम्बन्धित सबै निकाय र सरोकारवालालाई जानकारी गराइएको प्रशासनले जनाएको छ।















