Logo

२२ कात्तिक, वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्ब १० करोड रुपैयाँ बराबरको सामान आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो अघिल्लो आर्थिक वर्षको सोही अवधिभन्दा १९ प्रतिशतले वृद्धि भएको हो।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा एक खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो। यस वर्ष सोही अवधिमा ३४ अर्ब २३ करोड रुपैयाँ बढीका वस्तु आयात भएका हुन्।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार पछिल्लो समय आयातमा उल्लेखनीय वृद्धि देखिएको छ।

आयात भएका वस्तुहरूमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ रहेका छन्। वीरगञ्ज नाका हुँदै तीन महिनामा ३८ अर्ब नौ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ भित्रिएको छ।

त्यसपछि १९ अर्ब ८४ करोड मूल्य पर्ने फलाम तथा फलामजन्य सामग्री, १५ अर्ब ५७ करोडको मेसिनरी तथा पार्टपुर्जा, र १४ अर्ब ८० करोडको भटमासको कच्चा तेल आयात गरिएको छ।

यस्तै १२ अर्ब ८१ करोडको मलखाद, १२ अर्ब १६ करोडको कपडा, १२ अर्ब छ करोडको इलेक्ट्रिक मेसिनरी र पार्टपुर्जा, र १० अर्ब १२ करोड रुपैयाँ बराबरका सवारी साधन तथा तिनका पार्टपुर्जा आयात भएका वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।


सम्बन्धित समाचार