Logo

२२ कात्तिक,काठमाडौं । नेपालले जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०) पूर्वसन्ध्यामा आयोजित ‘लिडर समिट’मा नेपालले यस्तो आह्वान गरेको हो।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले नेपालको तर्फबाट मन्तव्य दिँदै देशले सधैं वातावरणीय संरक्षण र प्रकृतिमैत्री प्रणालीलाई प्राथमिकतामा राख्दै आएको बताएका छन्। उनले नेपालको कार्बन उत्सर्जन विश्वकै तुलनामा अत्यन्त न्यून भए पनि बलियो नीति र कार्यमार्फत जलवायु परिवर्तन न्यूनीकरणका प्रयासमा अग्रणी भूमिका निर्वाह गरिरहेको उल्लेख गरे।

कोप–३० सम्मेलन यही नोभेम्बर १० देखि २१ तारिख (कात्तिक २४ देखि मंसिर ५ गतेसम्म) ब्राजिलमा हुँदैछ। सम्मेलनमा नेपालले मन्त्रिस्तरीय सहभागिता जनाउने तयारी गरेको छ।

वन मन्त्रालयका अनुसार कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारको नेतृत्वमा नौ सदस्यीय नेपाली प्रतिनिधि टोली यही कात्तिक २९ गते ब्राजिल प्रस्थान गर्नेछ। टोलीमा विभिन्न मन्त्रालय, सरकारी निकाय र विज्ञ प्रतिनिधिहरू रहनेछन्।

नेपालले कोप–३० मा पर्वतीय देशहरूको जलवायु जोखिम, अनुकूलनका चुनौती, र जलवायु वित्तीय सहयोगमा समान पहुँच सुनिश्चित गर्ने विषयमा जोड दिने तयारी गरेको मन्त्रालयले जनाएको छ।


सम्बन्धित समाचार