२२ कात्तिक,काठमाडौं । अमेरिकाले अबदेखि मधुमेह, मोटोपना, मुटुरोग र अन्य दीर्घ स्वास्थ्य समस्या भएका विदेशी नागरिकलाई भिसा अस्वीकार गर्न सक्ने नयाँ व्यवस्था लागू गरेको छ। ट्रम्प प्रशासनले जारी गरेको नयाँ निर्देशनमार्फत अमेरिका प्रवेशमा थप कडाइ गरिएको हो।
सीबीएस न्युजका अनुसार अमेरिकी विदेश मन्त्रालयले नयाँ निर्देशन दूतावास र वाणिज्यदूतावासहरूलाई पठाएको छ। निर्देशनमा भिसा आवेदक ‘पब्लिक चार्ज’ — अर्थात् अमेरिकी सरकारको आर्थिक बोझ बन्न सक्ने सम्भावना भएमा — उनीहरूलाई भिसा दिन नहुने उल्लेख गरिएको छ।
निर्देशनमा भनिएको छ, “आवेदकको स्वास्थ्य अनिवार्य रूपमा विचार गर्नुपर्छ। कार्डियोभास्कुलर रोग, श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर, मधुमेह, मेटाबोलिक र स्नायु रोगदेखि मानसिक स्वास्थ्य समस्यासम्मले अत्यधिक महँगो उपचार आवश्यक पर्न सक्छ।”
यससँगै भिसा मूल्यांकनमा अब संक्रामक रोग वा खोप अभिलेख मात्र होइन, दीर्घरोग र उमेरसम्बन्धी जोखिम पनि प्रमुख तत्वका रूपमा समावेश गरिनेछ।
मोटोपनाले दम, स्लीप एपनिया र उच्च रक्तचाप उत्पन्न गराउन सक्ने भएकाले यसलाई पनि ‘पब्लिक चार्ज’को जोखिमसँग जोडेर मूल्यांकन गर्न निर्देशनमा भनिएको छ।
विश्वको करिब १० प्रतिशत जनसंख्या मधुमेहबाट पीडित रहेको र मुटुरोग मृत्युको प्रमुख कारण बनेको पृष्ठभूमिमा यो कदम स्वास्थ्य अवस्थामाथि आधारित भिसा नीतिमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ।
निर्देशनले आवेदकसँग उपचार खर्च व्यहोर्ने पर्याप्त आर्थिक स्रोत छ कि छैन भन्ने आकलन गर्न दूतावास अधिकारीहरूलाई सुझाएको छ। साथै, आवेदकका परिवारमा दीर्घरोगी वा विशेष हेरचाह आवश्यक पर्ने सदस्य छन् भने, त्यसले रोजगारी वा आर्थिक क्षमतामा असर पार्छ कि पार्दैन भन्ने विषय पनि मूल्यांकनमा समावेश गरिनेछ।
एएनआईका अनुसार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यो नयाँ नीतिबारे हालसम्म कुनै औपचारिक टिप्पणी गरेका छैनन्।

















